किन मौन छन् मधेशीदलका नेताहरु ?



काठमाडौं : भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालमा यसले ठूलै हलचल मच्चाएको छ । नेपालमा मात्र होइन् भारतको अर्को छिमेकी देश पाकिस्तानमा पनि यसले तहल्का पिटेको छ । नेपालको कालापानी, लिपुलेक लिम्पियाधुरा भारतमा राखेर नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालमा यसको सर्वत्र निन्दा र चर्को विरोध भइरहेको छ । यस विषयमा सबैको समान धारणा बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो (शनिबार) सर्वदलीय र सर्वपक्षीय बैठक आयोजना गरे ।

बैठकमा सबै दलका नेताहरुले भारतले नेपालको भूमी अतिक्रमण गरेको सहमती जनाउँदै यसका विरुद्ध सबै एक ठाउँमा उभिने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । भारतको यो पछिल्लो कदमका विरुद्धमा देशव्यापी आन्दोलन भइरहेका छन् । मुख्य–मुख्य पार्टीहरुले यसको विरोध गर्दै आफ्ना धारणा सार्वजनिक गरिसकेका छन् भने आफ्ना भातृसंस्थाहरु आन्दोलनमा उतारेका छन् । तर, भारतका हरेक कदमप्रति साथ दिने र भारतको पक्षपोषण गर्दै आइरहेको भनेर आरोप लाग्ने तराई–मधेश केन्द्रीत दलहरु भने यो विषयमा पनि मौन बसेका छन् ।

नाकाबन्दीका बेला पनि यस्तै विवादमा तानिएका राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी अहिलेसम्म यो विषयका बारेमा आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् । यसले गर्दा विभिन्न टिकाटिप्पणी भइरहेको छ ।

मधेश केन्द्रीत दलहरुको बर्चस्व रहेको २ नम्बर प्रदेशका विभिन्न जिल्लाहरुमा भारतले अतिक्रमण गरेको समाचारहरु आइरहँदा पनि राजपा र समाजवादी लगायतका मधेश केन्द्रीत दलहरु र नेताहरु मौन बस्नुलाई आश्चर्यका रुपमा हेरिएको छ ।

राससका अनुसार, प्रदेश नं २ मा रहेका ८ जिल्लामध्ये धनुषा जिल्लाबाहेक ७ जिल्लाका २१ स्थानमा ४ सय ६० हेक्टर जग्गा भारतीयले अतिक्रमण गरी बसोबास गर्दै आइरहेको तथ्य फेला परेको छ ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठको पुस्तक सीमासंग्रामलाई आधार मान्दा भारतीयले प्रदेश नं २ को पर्साका पाँच स्थानमा २ सय २७ हेक्टर, महोत्तरीका दुई स्थानमा १४ हेक्टर, रौतहटमा एक स्थानमा १५ हेक्टर, सप्तरीमा सात स्थानमा १ सय ४५ हेक्टर, बारामा दुई स्थानमा ३६ हक्टर, सर्लाहीमा दुई स्थानमा १२ हेक्टर, सिरहामा दुई स्थानमा ४१ हेक्टर गरी जम्मा २१ स्थानमा ४ सय ६० हेक्टर जग्गा अतिक्रमण गरी उपभोग गर्दै आएका छन् ।

नेपाल–भारत सीमामा रहेका कतिपय सीमास्तम्भ नदीले बगाएको, क्षतिग्रस्त भएकाले सीमाक्षेत्र कहाँसम्म हो भनी यकिन गर्न नसकिएकाले कतिपय ठाउँमा भारतीयले अतिक्रमण गरी खेतीपाती गर्ने, गाईगोठ बनाएर भोगचलन गर्दै आएका छन् । नदीले बगाएका तथा अन्य कारणले क्षतिग्रस्त भएका सीमास्तम्भ वर्षांै बितिसक्दा पनि ध्यान नदिँदा यस्ता आएको वीरगञ्ज महानगरपालिका वडा नं २४ रामगढवाका शेषमन पडितको ठम्याइ छ ।

प्रदेश नं २ मध्ये सबभन्दा बढी पर्सामा पाँच स्थानमा २ सय २७ हेक्टर नेपाली भू–भाग भारतीयद्वारा अतिक्रमण भएको देखिन्छ । खासगरी जिल्लाको पश्चिमी क्षेत्रको दुर्गम गाउँमा रहेको सीमा क्षेत्रको यकिन नहुँदा त्यस क्षेत्रमा भारतीयले नेपाली भू–भाग अतिक्रमण गरी भोगचलन गर्दै आएको देखिन्छ ।

‘नेपाल–भारतबीच देखिएको सीमा समस्यालाई समाधान गर्न दुई देशका अधिकारीसँग बसेर सत्यतथ्य पत्ता लगाई समस्या समाधान गर्न नापी विभागलाई पत्राचार गरेका छौँ’, पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भने, ‘कतिपय ठाउँमा सीमास्तम्भ हराएको, भाँचिएकाले कहाँसम्म सीमाक्षेत्र रहेकाबारे यकिन हुन नसकेकाले यो समस्या देखापरेको हो ।’

प्रदेशको पूर्वी जिल्ला सप्तरीका सात स्थानमा १ सय ४५ हेक्टर सीमाक्षेत्र अतिक्रमण भएको देखिन्छ । यसबारेमा त्यहाँका प्रमुख जिल्ला अधिकारी सुनिल प्रसाईंँले यो समस्या दुई देशबीचको समस्या रहेकाले यसबारेमा आफूले बोल्न उचित नहुने बताए । सीमासुरक्षाका लागि सीमाक्षेत्रमा रहेका सुरक्षाकर्मीको उदासिनताका कारण कतिपय ठाउँमा अझसम्म सीमाक्षेत्रको समस्या समाधान हुन नसकेको स्थानीयवासीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्