३ भरुवा बन्दुकसहित २ जना पक्राउ



दाङ : प्रहरीले ३ भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ। राजपुर गाउँपालिका निवासी ५० वर्षीय नरबहादुर घर्ती र  रेशमबहादुर बुढाथोकीलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

 

एक जनलाई गोली लागेको घटना सार्वजनिक भएपछि त्यो खोज्दै जाँदा उनीहरू पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। आइतबार नरबहादुर घर्तीले बोकेको भरुवा बन्दुक पड्किएर ४० वर्षीय धनलाल पुनलाई गोली लागेको घटना सार्वजनिक भएपछि प्रहरीले बन्दुकको खोजी थालेको थियो।

 

स्थानीय केही व्यक्तिको घरमा खान तलासी गर्दा ३ नाल भरुवा बन्दुक बरामद भएपछि अवैध हतियार राख्ने २ जना व्यक्तिलाई समेत  इलाका प्रहरी कार्यालय गढवाले पक्राउ गरेको थियो।दाहिने खुट्टाको गोली गाँठामा भरुवा बन्दुकको गोली लागेर घाइते भएका धनलाल पुनको भने हाल बाँकेमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले जानकारी दिए।

 

प्रहरीले स्थानीय डिल्लीबहादुर खड्का र नरबहादुर घर्तीको घर खानतलासी गर्दा ३ नाल भरुवा बन्दुक बरामद गरेको थियो। डिल्लीबहादुरको घरबाट सो परिमाणमा बन्दुक फेला परे पनि अनुसन्धान गर्दा उनी निर्दोष देखिएपछि उनलाई छोडिएको हो। उनको घरमा पुनले बन्दुक लुकाएर राखेको खुलेपछि खड्कालाई हिरासतमा नलिएको प्रहरीले बताएको छ।

 

खड्का र घर्तीको घरबाट भरुवा बन्दुकमा प्रयोग हुने फलामका टुक्रा, सिसाका छर्राका टुक्रा, सलाइको काँटी, सोडाजस्तो देखिने वस्तु, बारुद निर्माण गर्न आवश्यक कच्चा पदार्थ, केप वनाउन प्रयोग गरिने औषधिको खोल समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान जारी रहेको र उनीहरूमाथि अवैध हात हतियार खरखजनासम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्