कुखुराको खुट्टा भाँचेको अभियोग लागेपछि …



बाँके : कुखुराको खुट्टा भाँचेको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका–२१ बिर्ताका अकबाल खाँ चार दिनदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । 

 

गत मङ्सिर २४ गते ढुङ्गाले हानेर कुखुराको खुट्टा भाँचिदिएको भन्दै कुखुरा लिएर जिल्ला प्रहरी कार्यालय बाँके पुगेर उनकै छिमेकी मोहम्मद रफिकले उजुरी दर्ता गराएका थिए । 

 

पटक–पटकको छलफलपछि पनि उनीहरूबीच कुरा मिल्न सकेको थिएन । प्रहरी कार्यालयमा भएको छलफलअनुसार मुद्दा दिने रफिकलाई कुखुराको मूल्य लिएर मिल्न र अकबाललाई कुखुराको मूल्य तिरेर लैजान सुझाव दिए पनि दुवैजनाले सुझाव अस्वीकार गरेपछि अकबालमाथि मुद्दा चलाइएको थियो । 

 

घटनाको दुई सातापछि अकबाल शनिबारदेखि जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा छन् । तर जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले कुखुराको खुट्टा भाँचेको आरोपमा नभई अभद्र व्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरी मुद्दा चलाइएको बताए । 

 

प्रहरीले दुवै पक्षलाई पटक-पटक राखेर मिलाउने प्रयास गरे पनि सहमति हुन सकेको थिएन । नागरिक अगुवाहरूले स्थानीय तहको न्यायिक समितिले हेर्नुपर्ने विषयमा प्रहरी अनावश्यक रूपमा फँसेको टिप्पणी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्