धारिलो हतियार प्रहार गरी कुकुर मार्ने तीन पक्राउ



ईटहरी : सुनसरी ईटहरी उपमहानगर १ बस्ने मोहन विश्वकर्माको घरमा घरेलु हात हतियारसहित प्रवेश गरी आक्रमण गर्ने तीन जनालाई ईलाका प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ईटहरी उपमहानगर ५ पिपल चौक बस्ने वर्ष २० को विशाल माझी, २१ वर्षका मनोज भण्डारी र २१ वर्षकै सुदिप राई रहेका छन् ।

मोरङ जिल्लाको पथरी शनिश्चरेस्थित आफन्तको घरमा लुकीछिपी बसिरहेको भन्ने सूचनाको आधारमा तत्काल मोरङ प्रहरीसँग समन्वय गरी यस कार्यालयबाट खटी गएको प्रहरीले उनीहरुलाई शनिबार पक्राउ गरेको ईलाका प्रहरी कार्यालय ईटहरीका सूचना अधिकृत एवं प्रहरी निरीक्षक मान प्रसाद श्रेष्ठले जानकारी दिए ।

उनीहरुले कात्तिक १९ गते विश्वकर्माको घरमा धारिलो हतियारसहित प्रवेश गरी घरको मुल ढोकामा कुकुरी प्रहरी गर्नुका साथै सोही घरमा रहेको जर्मन सेफ जातको वयस्क कुकुरको हत्या गरी फरार भएका थिए ।

मोहन विश्वकर्माले सोही घटनाका संलग्न व्यक्तिहरुको विरुद्ध अभद्र व्यवहार मुद्दामा किटानी जाहेरी दरखास्त दर्ता गरेको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्