आलमबारे गलत समाचार सम्प्रेषण भएकोमा रौतहट प्रहरीको आपत्ती



काठमाडौं : नेपाली कांग्रेसका नेता मोहमद आफ्ताब आलम पक्राउ प्रकरणका विषयमा आएका समाचारलाई लिएर रौतहट प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ । रौतहट प्रहरीले हिजो (शनिबार) एक विज्ञप्ती जारी गरी भ्रामक समाचार सम्प्रेषण भएको भन्दै आफ्नो गम्भीर आपत्ती जनाएको हो ।

विज्ञप्तीमा केही अनलाईन न्यूज पोर्टलले प्रकाशन गरेको समाचारले जिल्ला अदालतमा रौतहटमा विचाराधीन मुद्दालाई प्रभावित तुल्याउने कुत्सित मनसाय राखेको दिएको छ ।

‘बहाल कानुन र विभागीय नीति, निर्देशन बमोजिम जिल्ला प्रहरी कार्यालयको क्षेत्राधिकार भित्र रहेकोले जिल्ला प्रहरी कार्यालय रौतहटले आलमलाई पक्राउ गरेको घाम जत्तिकै छर्लङ्ग छ,’ विज्ञप्तिमा भनिएको छ ।

तर, आरोपित पक्राउ लगायतको विषयमा जिल्ला प्रहरी कार्यालय रौतहट र जिम्मेवार प्रहरी अधिकारहरु कर्तव्यच्यूत भएको भन्ने आशयका साथै असम्बन्धित कार्यालय र व्यक्तिको प्रसंग सुनियोजित रुपमा जोडिएको समाचार आएको भन्दै कार्यालयले आपत्ति प्रकट गरेको हो ।

साथै जिल्ला प्रहरी कार्यालय रौतहटले यस्ता तथ्यहीन, अनर्गल एवं अतिरञ्जित समाचार प्रति भ्रममा नपर्न सम्पूर्ण सर्वसाधारणमा अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्