राष्ट्र बैंकको गभर्नर बन्न को–को छन् दौडमा ?



काठमाडौं : नेपाली अर्थतन्त्रको मुटुका रुपमा रहेका नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले अवकाश पाउने दिन नजिकिँदै गर्दा गर्भनर बन्नका लागि दौडधुप शुरु भएको छ ।

गर्भनर बन्नका लागि राष्ट्र बैंकबाट अवकाश प्राप्त अधिकारीहरुसँगै विभिन्न व्यक्तिहरुले लबिङ शुरु गरेका छन् ।

देशको अर्थतन्त्रको मूल ढुकुटीको रुपमा रहेको नेपाल राष्ट्र बैंकमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले दक्ष तथा योग्य व्यक्तिलाई स्थान दिने बताइरहँदा यो दौडधुप शुरु भएको हो ।

नेपाल राष्ट्र बैंकको गर्भनर डा. चिरञ्जीवी नेपालको पदावधि चैत्रमा सकिदैछ । गर्भनर नेपालको पदावधि सकिन ४ महिना बाँकी हुँदा राष्ट्र बैंकको गर्भनर हुनेको चर्चा हुन थालेको छ । भने गर्भनर बन्नको लागि दौडधुप गर्नेहरु पनि बढिरहेको छ ।

प्रधानमन्त्री ओलीले राष्ट्र बैंकमा गर्भनर नियुक्तिको लागि अर्थमन्त्री डा.युवराज खतिवडालाई जिम्मेवारी दिएका छन् । प्रधानमन्त्रीले नै गभर्नरमा आफू निकटलाई नियुक्त गर्न हतारो देखाएपछि सो पदका आकांक्षीको चलखेल अहिले तिव्रता दिएका छन् ।

अर्थमन्त्री डा. खतिवडाले नयाँ गभर्नरका लागि हालका अर्थसचिव राजन खनाललाई लैजान चाहेका थिए । तर प्रधानमन्त्री ओलीले उक्त प्रस्ताव अस्वीकार गरेपछि पूर्वएमालेका लागि लेबी तिर्नेहरुको अहिले ताँती लागेको छ ।

यसरी गर्भनर हुनका लागि लविङमा लाग्नेहरुमा सबैभन्दा अगाडी राष्ट्र बैंककै एकजना डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी देखिएका छन् । उनी जसरी भएपनि गभर्नर बन्ने एक सुत्रीय अभियानमा छन् । आफ्ना प्रतिद्वन्दीलाई पछाडी पार्दै गभर्नर हात पार्ने पक्षमा शिवाकोटी देखिएका छन् ।

उनले यसैको लागि आफ्ना प्रतिद्वन्दी आफू भन्दा सिनियर डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई बलीको बोको बनाइसकेका छन् । श्रेष्ठविरुद्ध उनले ठूलै षडयन्त्र गरेको श्रोतको दाबी छ । श्रेष्ठ अहिले निलम्बनमा परेका छन् ।

यस्तै नेपाल लगानी बोर्डका कार्यकारी प्रमुख महाप्रसाद अधिकारीले पनि गभर्नर बन्न दौडधुप गरेका छन् । अधिकारीको पक्षमा प्रधानमन्त्री समक्ष गतिलै लबिङ भएको श्रोतको दाबी छ ।

यस्तै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, नेपाल बैक लिमिटेडका वर्तमान अध्यक्ष बासुदेव अधिकारी, राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशक भाष्करमणि ज्ञवाल, राष्ट्र बैंक सञ्चालक समितिका पूर्वसदस्य विकेमान सिंह र सिए सुबोधकुमार कर्ण पनि गर्भनर बन्ने दौडमा रहेका छन् ।

गर्भनर बन्नको लागि दौडमा रहेका यी उम्मेदवारहरु प्रधानमन्त्री ओलीसँग आ–आफ्नो लविङ गरिरहेका छन् । उनीहरुले गर्भनर बन्नका लागि दौड शुरु गरिरहँदा प्रधानमन्त्री ओली आफ्नो स्प्रिटअनुसार काम गर्ने योग्य र दक्ष व्यक्तिको खोजीमा रहेको बालुवाटार श्रोतले बताएको छ । यसरी तीव्र लविङमा लागेका उनीहरुमध्ये कसले बाजी मार्छन त्यो चाही हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्