दाङमा नेपाल एयरलाइन्सले दैनिक उडान भर्ने



दाङ : सरकारी वायु सेवा कम्पनी नेपाल एयरलाइन्सले दाङमा दैनिक हवाई उडान भर्ने भएको छ। नियमित उडान सुरु गरेको एयरलाइन्सले दैनिक उडान कार्यतालिका सार्वजनिक गरेको छ। पुस ११ गते देखि काठमाडौ दाङ दैनिक उडान भर्ने तयारी भएको नेपाल बायुसेवा निगमका प्रवक्ता क्याप्टेन विजय लामाले बताए। यस अघि हप्तामा तीन दिन उडान भर्दै आएको थियो। 

 

सुरुमा नियमित हप्तामा दुई दिन उडान गर्दै आएको नेपाल एयरलाइन्सले यात्रुको चाप बढेकाले तीन दिन पुर्‍याएको थियो अहिले त्यसलाई पनि बढाएर सातै दिन पुर्‍याएको जनाएको छ।

 

लामाका अनुसार अब हप्तामा सातै दिन अर्थात् दैनिक उडान तालिका तयार गरेको जनाएका छन्। मंसिर महिनाको पहिलो साताबाट हप्तामा तीन दिन सोमबार, बुधबार र शुक्रबार एयरलाइन्सले उडान भर्दै आएको थियो।  

 

असोज १९ गतेबाट नेपाल एयरलाइन्सको १८ सिटे जहाजले दाङ-काठमाडौ हवाई सेवा दिइरहेको छ।  एयरलाइन्सले काठमाडौबाट भैरहवा हुँदै दाङ- दाङ-भैरहवा -काडमाडौ उडान भर्दै आएको छ। काडमाडौं दाङका लागि ६ हजार ७० रुपैयाँ र दाङबाट काठमाडौका लागि ५ हजार आठ सय ८० रुपैयाँ भाडा तोकेको छ। 

 

दाङमा नियमित हवाई सेवा सञ्चालन भएदेखि जिल्लाबासी हवाई सेवा लिन अन्य जिल्लामा जानुपर्ने बाध्यता हटेको छ। विमान स्थलमा इन्धनको समस्या देखिए पछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले टरिगाउँमा अस्थायी इन्धन डिपो स्थापना गर्ने तयारी समेत गरिरहेको जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्