लिबियाबाट २ सय अवैध आप्रवासी फिर्ता



त्रिपोली : लिबियाको पूर्वी शहर बेंगाजीस्थित अध्यागमन विभागले झण्डै २०० जना अवैध आप्रवासीलाई इजिप्ट फर्काइएको जनाएको छ ।

विभागका अनुसार फर्काइएका अवैध आप्रवासीमध्ये १९४ जना इजिप्टका नागरिक थिए । आधिकारिक कागजात नभएका उनीहरुमा संक्रामक रोग समेत देखिएको थियो ।

अन्तर्राष्ट्रिय आप्रवास संगठनले हालैमात्र लिबियामा ६ लाख ५० हजार अवैध आप्रवासी रहेका र तीमध्ये करिब ६०० जनालाई थुनामा राखिएको जनाएको छ । थुनामा राखिएकामा महिला र बालबालिका पनि छन् ।

युरोप प्रवेश गर्न चाहने हजारौं आप्रवासी लिबियाको मार्ग प्रयोग गर्दछन् । यी अवैध आप्रवासीमध्ये अधिकांश अफ्रिकी मूलका व्यक्तिहरु रहने गरेका छन् । तर लिबियामा जारी असुरक्षा र अव्यवस्थाका कारण आप्रवासीमाथि आक्रमण पनि हुने गरेको छ ।

अवैध आप्रवासीलाई राख्न बनाइएका अस्थायी शिविर पनि खचाखच भरिएका छन् । सन् २०११ मा लिबियाका नेता महमर गद्दाफीको शासन पतन भएपछि लिबियामा सुरक्षा व्यवस्था नाजूक छ । (रासस)

प्रतिक्रिया दिनुहोस्