पुसमा नहुने भयो जनकपुरमा रात्रीकालीन विमान अवतरण



जनकपुरधाम : देशकै पुरानामध्येका एक जनकपुर हवाई अड्डा (एयरपोर्ट) को नयाँ टर्मिनल भवनको निर्माणकार्य अझै सकिएको छैन । ६ वर्षअघि सुरु गरिएको नयाँ टर्मिनल भवनको निर्माणकार्य सुरु भएको थियो । सम्बद्ध निकायले चासो नदिँदा जनकपुर विमानस्थलको स्तरोन्नति हुन ढिलाइ भइरहेको छ । 

भारतको सहयोगमा बनेको यो विमानस्थल विसं २०२४ असोज ८ गते देखि सञ्चालनमा आएको हो । तर, सेवासुविधाको दृष्टिले यो विमानस्थलको निकै कमजोर रहेको स्थानीयको गुनासो छ । 

 

नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा अहिलेसम्म सुरक्षाजाँचको लागि एक्स–रे मेसिन, बारुणयन्त्रजस्ता अत्यावश्यक आधारभूत उपकरणसमेत जडान गर्न सकेको छैन । 

जनकपुर विमानस्थल निर्माणका योजना प्रमुख सत्य दुलालले अबको एक वर्षभित्र नयाँ टर्मिनल भवन निर्माण पूरा भइसक्ने अनुमान गरे । नयाँ टर्मिनल भवनसँगै धावनमार्ग स्तरोन्नतिका लागि २० करोडको लागतमा काम भइरहेको छ । 

द नेपालटपसँग दुलालले भने, ‘पुसबाट नै रात्रीकालीन सेवा सञ्चालन गर्ने लक्ष्यका साथ काम भए पनि समयमा काम सक्ने अवस्थामा देखिँदैन ।’यद्यपि अबको एक वर्षमा टर्मिनल भवन निर्माणलगायत सबै काम सम्पन्न हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।

 

जनकपुर विमानस्थलको १३ सय मिटर ( रनवे ओवर लेप) को काम सम्पन्न भइसकेको भए पनि विमानस्थलमा रात्रि अवतरणका लागि रनवेमा बत्ती जडान कार्य अझै सुरु भइसकेको छैन । 

विमानस्थलमा एप्रोन ओवर लेप (एक्सटेन्सन) को कार्य एकदुई दिनमै सकिने हवाई अड्डाका कर्मचारी बताउँछन् ।

अहिलेसम्म दिवाकालीन सेवामात्र सञ्चालन हुँदै आएको जनकपुर विमानस्थलबाट आगामी एक वर्षभित्र अब रात्रीकालीन सेवा सञ्चालन हुनेमा स्थानीय आशावादी छन् ।

प्रतिक्रिया दिनुहोस्