धनगढी प्रिमियर लिग सर्‍याे



कैलाली : सुदूरपश्चिम प्रदेशको धनगढीमा माघ १९ गतेदेखि फागुन ४ गतेसम्म हुने भनिएको धनगढी प्रिमियर लिग (डिपिएल)को मिति सरेको छ । 

सोही समयमा नेपाल र युएईबीच एकदिवसीय तथा टि २० खेल हुने भएकाले एक साताका लागि डिपिएल पछाडि सारिएको हो । अंग्रेजी नयाँ वर्ष २०१९ को जनवरी अन्तिम सातादेखि फेब्रुअरी पहिलो सातासम्म नेपाल र युएईबीच एक दिवसीय तथा टि २० खेल हुनेछन् । 

 

एकदिवसीय खेलको मान्यता पाएपश्चात् नेपालले दोस्रोपटक र युएईसँग पहिलोपटक एकदिवसीय खेल खेल्न गइरहेको छ । यसअघि माघ १९ गतेदेखि सुरु हुने भनिएको रुस्लान धनगढी प्रिमियर लिग माघ २६ गतेदेखि फागुन ११ गतेसम्म चल्ने आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिए ।

 

यस्तै प्रतियोगिताका लागि हुने अक्सनमा सहभागी हुन अनलाइन फर्म भर्ने समयसमेत एक साताका लागि बढाइएको छ । पुस १७ गतेसम्म फर्म भर्न सकिनेछ । पुस १२ गते गर्ने भनिएको अक्सन पुस १९ गतेसम्म गरिने अध्यक्ष शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्