जनकपुरमा रक्तदान गर्नेहरु बढे



जनकपुरधाम : जनकपुरमा पछिल्लो समय रक्तदान गर्नेको संख्या बढेको छ । रगतको अभावमै विरामीहरुको मृत्यु हुने क्रम बढेपछि जनकपुरका युवाले रक्तदानको क्रम पनि बढाएका हुन् । विद्यालय, स्थानीय क्लबहरुको वार्षिकोत्सव, बैंक र संघसंस्थाको स्थापना दिवस आदिको अवसरमा जनकपुरमा रक्तदान हुनेगरेको छ ।

यसै महिना रामानन्द युवा क्लबले आफ्नो ४३ औं वार्षिकोत्सवमा रामानन्द चौकमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा एक सयभन्दा बढी रगत दान गरेका थिए । त्यहाँबाट संकलित रगत रेडक्रस ब्लड बैंक जनकपुरलाई बुझाइयो ।

 

त्यस्तै यसै हप्ता सिभील बैंक जनकपुर शाखाले पनि आफ्नो वार्षिकोत्सवको अवसरमा भानुचौकस्थित शाखा कार्याल परिसरमा रक्तदान कार्यक्रम आयोजना गर्यो । मंगलबार मोनास्टिक आवासिय माध्यमिक विद्यालयको ३३ औं वार्षिक उत्सवको अवसरमा ३३ जनाले रक्तदान गरेका छन् ।

 

जनकचाेकमा भएको रक्तदान कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका र विद्यार्थीहरुले भाग लिए । स्थानीय युवा दिपक ठाकुरका अनुसार जनकपुरमा रक्तदानको संस्कार निकै पुरानो रहेको छ । 

रेडक्रसको ब्लड बैंकमा प्रायः जसो रगत अभाव हुने गरेका कारण समयसमयमा रक्तदानको गरिनु सकारात्मक प्रयास भएको उनको भनाइ छ । मोनास्टीक स्कूलका खेल प्रशिक्षक वीरेन्द्र कर्ण भन्छन्,‘हामीले प्रत्येक वर्ष विद्यालयको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम संचालन गर्दैआएका छाैं ।’

 

रक्तदान जीवनदान हो भन्दै मधेश अधिकार संघर्ष समिति(मास)का संयोजक सरोज मिश्र भन्छन्, ‘जनकपुर अञ्चल अस्पतालमा स्थानीय अन्य अस्पतालको तुलनामा धेरै प्रसुति हुन्छ र दैनिक सयौं पोका रगत चाहिएको हुन्छ ।’ रक्तदानले केही हदसम्म रगत अभाव टरेको मिश्रको भनाइ छ ।

 

डाक्टर रामदेव यादवका अनुसार स्वस्थ्य व्यक्तिले प्रत्येक ३ महिनामा रक्तदान गर्नु राम्रो हुन्छ । रगत अभावकै कारण जनकपुरमा थुप्रैले ज्यान गुमाएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्