बन्द भयो ल्हासा–काठमाडौं उडान



काठमाडौं : सरकारले नेपाल भ्रमण वर्ष सन् २०२०लाई लक्षित गर्दै नेपाल उडान भर्ने विदेशी हवाई सेवा प्रदायक कम्पनी र मुलुकको संख्या बढाउने कूटनीतिक पहल गरिरहेका बेला चीनको ल्हासा हुँदै आएको उडान रोकिएको छ।

गत महिना चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणमा नेपाल आउने सो मुलुकका पर्यटकको संख्या बढाउने द्विपक्षीय छलफल भएको चर्चा सेलाउन नपाउँदै चिनियाँ राष्ट्रिय ध्वजावाहक एयरलाइन्सले ल्हासा–काठमाडौं उडान रोकेको हो। चिनियाँ राष्ट्रिय ध्वजावाहक सो एयरलाइन्सले यही कात्तिक १० (गत अक्टोबर २७ तारिख) गतेदेखि नेपालतर्फको सेवा स्थगित गरेको हो।

ल्हासाबाट हुने एक मात्र अन्तर्राष्ट्रिय उडान नेपालसँगको मात्रै छ। ल्हासा नेपाल–चीनबीचको सामाजिक, सांस्कृतिक र व्यापारिक सम्बन्ध जोडिएको पुरानो गन्तव्यसमेत हो। भ्रमण वर्षको पूर्वसन्ध्यामा एयर चाइनाले यो रुटमा उडान स्थगित गरेसँगै नेपाल हुँदै तिब्बत जाने तेस्रो मुलुकका पर्यटक र चीन हुँदै नेपाल आउने यात्रुलाई प्रत्यक्ष असर पर्छ।

‘एयर चाइनाले लगभग नेपालको सेवा बन्द गर्ने भन्ने कुरा आएको छ, तर सिचुवान एयरलाइन्सको सेवा भने नियमित नै छ।’ –सोह्रखुट्टेस्थित ग्ल्यासियर ट्राभल्स एन्ड टुर्सका सञ्चालक सुरज काफ्लेले भन्नुभयो।

काठमाडौं–ल्हासा नेपाल–चीनबीचको पहिलो हवाई रुट पनि हो। एयर चाइनाले चीनको छेन्दु–ल्हासा, ल्हासा–काठमाडौं रुटमा साताको सातै दिन उडान भर्दै आएको थियो। ल्हासा–काठमाडौंको हवाई दूरी डेढ घण्टा हाराहारीको हो। एयर चाइनाले अफ सिजनको कारण देखाउँदै नेपालसँगको सेवा स्थगित गर्न चाहेको अन्य ट्राभल सञ्चालक बताउँछन्।

यसबारेमा जिज्ञासा राख्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रतावबाबु तिवारीले आफूलाई थाहा नभएको बताउनुभयो। ‘हो र, उडान नियमित नै हुनुपर्ने हो, स्थगित भएको बारे मलाई त्यस्तो कुनै जानकारी छैन’ –उहाँले भन्नुभयो। काफ्लेका अनुसार त्रिभुवन विमानस्थलबाट दैनिक ९० देखि ९५ हवाई उडान/अवतरण हुँदै आएको छ।

सर्वोच्च शिखर सगरमाथा आसपासको हवाई रुट एयर चाइनाले मात्रै प्रयोग गर्दै आएको छ। चीनबाट एयर चाइना, सिचुवान, तिब्बत एयरलाइन्स, चाइना इस्र्टन र चाइना साउर्दनले नेपाल उडान भर्दै आएका छन्। नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्