उपेन्द्रलाई सरकार छाड्न प्रधानमन्त्रीको सिंग्नल



काठमाडौं : सरकारमा बसेर सरकारकै आलोचना गरिरहेपछि समाजवादी पार्टीबाट सरकारमा सहभागी पार्टी अध्यक्ष उपेन्द्र यादव र इस्तियाक राईलाई सरकार छाड्न प्रधानमन्त्री केपी शर्मा ओलीले सन्देश पठाएको बालुवाटार स्रोतले बताएको छ ।

पछिल्लो पटक संविधान दिवस बहिष्कार गर्नेदेखि जग्गा हतबन्दी प्रकरणमा समेत सरकारलाई असहयोग गर्दै आएपछि असन्तुष्ट बनेका प्रधानमन्त्री ओलीले यादवलाई सरकार छाड्न सांकेतिक रुपमा यसअघि पनि सन्देश पठाएका थिए ।

समाजवादी पार्टीका तर्फबाट पार्टी अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्य मन्त्री छन् भने इस्तियाक राई शहरी विकास मन्त्री रहेका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग एकीकरणको तयारीमा रहेको समाजवादीलाई राजपाले एकीकरणको पूर्व शर्त सरकार छाड्नु पर्ने अघि सार्दै आएको छ । त्यस्तै संघीय समाजवादी पार्टी संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले पनि सरकारबाट बाहिरन दवाव दिँदै आएका छन् ।

पार्टी एकीकरण र सरकारका सन्दर्भमा आवश्यक निर्णय गर्न समाजवादी पार्टीको केन्द्रीय कमिटिको बैठक यही कात्तिक २८ देखि ३० सम्म बस्दै छ । यो बैठकले सरकारमा बस्ने कि बाहिरिने भन्ने विषयमा पनि निर्णय गर्ने बताइन्छ । तर, प्रधानमन्त्री ओलीले यस अघिनै सरकार छाड्न सन्देश पठाएको बताइन्छ ।

मन्त्री यादवले भने बैठक अगाडी सरकार नछाड्ने टुंगोमा पुगेका छन् । उनी निकट स्रोतका अनुसार बैठक पछि आवश्यक निर्णय लिने सोचमा यादव पुगेका छन् । त्यसोत यादवमाथि रौतहटको गौर काण्डको तरवार पनि झुण्डिएको छ ।

प्रतिक्रिया दिनुहोस्