मन्त्रीहरुलाई सामूहिक राजीनामा गराउने यस्तो छ ओलीको तयारी



काठमाडौं : ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत रहँदा प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा विभिन्न अडक बाजी र टिकाटिप्पणी भएपछि गम्भीर बनेका प्रधानमन्त्री ओली उपचारबाट फर्किएपछि परिणामुखी नतिजा खोज्दै निकै सक्रिय बनेका छन् ।

आकस्मिक रुपले प्रदेश प्रमुखहरुको बर्खास्तगी र नियुक्ति गरेर हलचल ल्याएका प्रधानमन्त्री ओलीले आकस्मिक ढंगलेनै आफ्नो सचिवालय टिमको सामूहिक राजीनामा गर्न लगाएका हुन् । यस कुराले सत्तारुढ दल नेकपामा हलचल पैदा गरेको छ ।

प्रधानमन्त्री ओलीलाई साँघुरो घेरा भित्र राखेर पार्टी नेता र कार्यकर्तालाई बालुवाटारमा काँडेतार लगाएको भन्दै पार्टी भित्रबाट चर्को आलोचना भइरहँदा प्रधानमन्त्री ओलीले सचिवालय टिमलाई राजीनामा दिन लगाएर नयाँ टिम बनाउने गृहकार्यमा जुटेका छन् ।

राजनीतिक बजारमा अनेक थरी हल्ला चलिरहँदा आकस्मिक ढंगले विकसित राजनीतिक घटना क्रममा प्रधामन्त्री ओलीले मन्त्रीमण्डलको पुर्नगठनको तयारी गरेका छन् ।

प्रधानमन्त्री ओलीको स्प्रिटमा मन्त्रीहरु नचल्दा जनताले चाहे अनुसार सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको र भएका कामको पनि प्रचार नहुँदा व्यापक आलोचना भइरहेको समयमा प्रधानमन्त्री ओली मन्त्रीमण्डल पुर्नगठन गर्ने योजना बनाएका हुन् ।

दशैं अगाडीनै मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारी गरेका प्रधानमन्त्री ओलीलाई पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चित्त बुझाउन नसक्दा र चिनियाँ राष्ट्रपति सी जिनफिङको भ्रमणले गर्दा यो काम पछाडि धकेलिएको थियो । केही नेताहरुले आसन्न उपनिर्वाचन पश्चात मन्त्रीमण्डल पुर्नगठन गर्ने धारणा राखेपनि प्रधानमन्त्री ओलीले आगामी मंसिरको पहिलो सातामै मन्त्रीमण्डल पुर्नगठन गर्ने सोच बनाएको बालुवाटार स्रोतले बताएको छ ।

यसअघि कार्यदक्षताका आधारमा मन्त्रिहरु हेरफेर गर्ने सोच बनाएका प्रधानमन्त्री ओलीले पछिल्लो पटक नयाँ फर्मुला अघि सारेका छन् । कार्य सम्पादनका आधारमा केही मन्त्रीहरुलाई हटाउँदा पार्टी र आमजनमानसमा राम्रो सन्देश नजाने र उनीहरुको क्यारियरमा धक्का पुग्ने भएपछि प्रधानमन्त्री ओलीले यस कुरालाई मनन् गर्दै सचिवालय टिमको सामूहिक राजीनामा माग गरेर मन्त्रिपरिषदका सदस्यहरुलाई पनि यो सन्देश प्रवाह गरेका छन् ।

बालुवाटार स्रोतका अनुसार मन्त्रीहरुबाट पनि सचिवालय सदस्यहरुले जस्तै सामूहिक राजीनामा दिएर आफूलाई सहयोग गर्न अपेक्षा गरेको र त्यसका लागि यो वातावरण बनाएको बताइन्छ ।

प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुर्नगठन सम्बन्धी पार्टी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलसँग घनिभुत छलफल चलाउँदै आएका छन् । प्रधानमन्त्री ओलीले वर्तमान मन्त्रीहरु र पुर्नगठनपछि बनाउन सक्ने सम्भावित मन्त्रीहरुसँग ‘वान टू वान’ वार्ता गरिरहेको स्रोतले बताएको छ ।

मन्त्रीहरुको सामूहिक राजीनामाको माग गरेर केही मन्त्रीहरुलाई फेरी समावेश गर्ने तयारी पनि ओलीको रहेको निकट स्रोतले बताएको छ । स्रोतका अनुसार गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई र सञ्चारमन्त्री गोकुल बाँस्कोटा अहिलेसम्म दोहोरिने लिस्टमा रहेका छन् । उनीहरु दोहोरिए पनि मन्त्रालय हेरफेर हुन सक्ने स्रोतको दाबि छ ।

प्रतिक्रिया दिनुहोस्