जनकपुरमा पनि क्रिसमस मनाइँदै



जनकपुरधाम : प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा पनि इसाई धर्मावलम्बीहरूको ठूलो चाड क्रिसमस उत्साहका साथ मनाइँदैछ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको सम्झनामा जनकपुरका चर्च तथा विद्यालयमा विभिन्न कार्यक्रम गरी क्रिसमस डे मनाइएको छ ।

 

इसाई धर्मका मुख्य प्रवर्तक तथा गुरु जिसस क्राइष्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर २५ का दिन क्रिसमस डे मनाइन्छ । क्रिसमसमा चर्चमा भेला भइ एकआपसमा शुभकामना अदानप्रदान गर्ने चलन रहेको मिथिला सालुम एजी चर्च जनकपुरका पास्टर इन्द्र बहादुर परियारले बताए ।

 

पास्टर परियारका अनुसार क्रिसमसका दिन विभिन्न प्रकारका मिठा खानेकुरा र हार्दिकता साटासाट गरिन्छ । जनकपुरमा दुई दशकदेखि क्रिसमस मनाउन थालिएको उनले जानकारी दिए । 

क्रिसमसले शान्ति र भाईचाराको सन्देश दिनुका साथै मेलमिलाप बढाउने पास्टर परियार बताउँछन् । पास्टर परियारले भने ‘परमेश्वरले अन्याय, अत्याचार र विभिन्न प्रकारका हिंसा रोक्ने काम गर्छन् ।’

 

क्रिसमस डेको अवसरमा प्रदेश २ का प्रदेश प्रमुख रत्नेस्वरलाल कायस्थ र मुख्यमन्त्री लालबाबू राउतले शुभकामना दिएका छन् । शुभकामना सन्देशमा प्रदेश २ सहित देशविदेशमा रहेका नेपाली र इसाई धर्मावलम्बीमा भाईचारा, धार्मिक सद्भाव र एकता कायम होस भनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्