भक्तपुर उपनिर्वाचन : आफ्नो पार्टीको उम्मेदवारी रद्द भएपछि पड्किए पशुपति



भक्तपुर : आफ्नो पार्टीको तर्फबाट उम्मेदवार बनेका व्यक्तिको उम्मेदवारी खारेज भएपछि आक्रोशित बनेका राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर राणाले यसको दोष निर्वाचन अधिकृतलाई लगाएका छन् ।

भक्तपुरमा सञ्चारकर्मीहरुबीच उम्मेदवारी खारेजको विषयमा आपत्ति जनाउँदै अध्यक्ष राणाले भने– ‘निर्वाचनको काम गर्ने मान्छेले सहि काम गर्न नसकेर र निर्वाचन अधिकृत ले अगाडीनै जानकारी गाराउनु पर्दथ्यो तर नगराएर हाम्रो उमेदवारी रद्द भयो ।’

अध्यक्ष राणाले आफ्नो पार्टीका उम्मेदवारको उम्मेदवारी खारेज हुनु दुर्भाग्यपूर्ण भएको बताउँदै जिल्ला पार्टीले पनि यसमा ध्यान नपुर्याकोमा आक्रोश व्यक्त गरे । राणाले भक्तपुरको प्रदेशमा उम्मेदवारी रद्द भएपनि यस क्षेत्रमा कसैलाई समर्थन नगरी आफ्नो तरिकाले अगाडी बढ्ने बताए ।

आगामी १४ मंसिरमा हुने उपनिर्वाचनका लागि भक्तपुर–१ प्रदेश सभा (क)मा २१ जनाको २३ वटा मनोनयन पत्र दर्ता भएको छ । दर्ता भएका उमेदवारी मनोनयनमध्ये दुई वटा खारेज भएको छ । समानुपातिकको बन्द सूचिमा नाम रहेका राप्रपा संयुक्त र आमुल परिवर्तन पार्टीका उमेदवारको मनोनयन खारेज भएको हो । दर्ता भएकामध्ये ११ राजनीतिक दलका र १० स्वतन्त्र छन् ।

तत्कालीन एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य हरिशरण लामिछानेको हृदयघातका कारण मृत्यु भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । प्रदेश सभा सदस्यका लागि नेकपाबाट देवीप्रसाद ढकाल, नेपाली कांग्रेसबाट कृष्णलाल भडेल, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट निरज लवजुले मनोनयन दर्ता गरेका छन् ।

यस्तै, नेपाली कांग्रेस (बी.पी)बाट मधुसुदन न्यौपाने, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मिङमार लामा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्यामप्रसाद नेपाल, समाजवादी पार्टीबाट सुदर्शन कुमार, नेकपा मालेबाट सुदर्शन लामिछाने र साझा पार्टीबाट सुरज प्रधानले उम्मेदवारी दर्ता गराएका छन् भने स्वतन्त्र उम्मेदवारका रुपमा अर्जुन कोजु, राकेश सुवाल, उत्तम साखकर्मी, कृष्णप्रसाद ह्योगो, कृष्णराम पोतामाहा, जीवनचन्द्र अधिकारी, जीवन नेपाली, संगिता पौडेल, सुजाता देउजा र सुमना कार्कीले मनोनयन दर्ता गरेका छन् ।

यो क्षेत्रमा चाँगुनारायण नगरपालिकाका ९ वटै वडा र भक्तपुर नगरपालिकाको वडा नम्बर १० पर्दछ । यहाँ ४५ हजार १५ जना मतदाता रहेका छन् भने २२ मतदानस्थलमा ५४ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्