दलित बालिकाको बलात्कारपछि हत्या भएको दाबी, दुई जनाबिरुद्ध किटानी जाहेरी



सर्लाही : झुण्डिएको अवस्थामा मृत फेला परेकी १५ वर्षीया बालिका संझा माझी मुसहरको बलात्कारपछि हत्या भएको भन्दै मृतककी आमाले दुई जनाबिरुद्ध किटानी जाहेरी दिएकी छिन् ।

सर्लाहीस्थित कविलासी नगरपालिका ७, बालिका माझीको बलात्कार गरी हत्या गरिएको दाबी गर्दै आमा फुलकुमारीले सोही ठाउँ निवासी विनय राय र चुनचुन रायबिरुद्ध इलाका प्रहरी कार्यालय हरिपुरमा किटानी जाहेरी दिएकी हुन् । 

गत मंसिर १८ गते साँझ ७ बजे घरबाट निस्किएकी बालिका माझीको शव भोलिपल्ट बिहान घरदेखि करिब सय मिटर पर गोठमा झुन्डिएको अवस्थामा फेला परेको थियो । 

मृतककी आमाले छोरी झुण्डिएको डोरी खुकुलो पाइएको तथा जिब्रो पनि बाहिर ननिस्किएकाले राती नै छोरीको बलात्कारपछि हत्या गरी आरापितहरुले गोठमा झुण्ड्याएको दाबी गरेकी छन् । 

घटनापछि केही व्यक्तिले यसलाई आत्महत्या बनाउन प्रयास गरिरहेको र आफूलाई पनि घटनाबारे कुरा नउठाउन डर÷त्रास देखाएका कारण समयमै उजुरी गर्न नसकेको उनले बताइन् । 

 

आरोपितहरूले हत्या भएको केहिदिन पहिले बालिकालाई जबरजस्ती गर्न खोजेको आरोप फुलकुमारीले लगाएकी छिन् । आरोपित दुई युवाले केही दिन अगाडी गाँजा खाएर नसाको सुरमा घरमै आएर पनि परिवारका अन्य महिलामाथि जबर्जस्ती गर्न खोजेका थिए । सो समयमा प्रतिकार गर्दा होहल्ला भएकाले ती युवा भागेको फुलकुमारीको दाबी छ । 

दैनिक ज्यालादारी गरी परिवार चलाउँदै आएकी फुलकुमारीले छोरीको न्यायका लागि अधिकारकर्मीसँग पनि सहयोगको याचना गरेकी छिन् । इलाका प्रहरी कार्यालय हरिपुरका इन्स्पेक्टर रमेश बहादुर पालले घटनाबारे अनुसन्धान भैइरहेको र आरोपित दोषी देखिए मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडी बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस्