नेकपाले दियो आयोगमा जिम्मेवारी, अनुशासन आयोगमा बोहरा



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले आयोग नेतृत्वको टुंगो लगाएको छ । मन्त्रीपरिषद हेरफेर गर्ने चर्चा चले पनि त्यस बिषयमा भने बैठकमा छलफल भएन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले आयोग नेतृत्वको टुंगो लगाएको हो । नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अनुशासन आयोगको संयोजकमा अमृतकुमार बोहरा र सचिवमा असोककुमार रोकायलाई चयन गरिएको छ ।

लेखा आयोग संयोजकमा पुष्प कडेल र सचिवमा टेकेन्द्र आचार्य तथा केन्द्रिय सल्लाहकार समितिको संयोजकमा केशब बडाल र सचिबमा नन्दकुमार थापालाई चयन गरिएको छ ।

निर्वाचन आयोगमा संयोजक विष्णुपुकार श्रेष्ठ र सचिवमा माधब पौडेल रहेको प्रवक्ता श्रेष्ठले बताए । यसैगरी ज्येष्ठ कम्युनिष्ट मञ्चमा संयोजक नन्दकुमार प्रसाइँ र सचिवमा गोविन्द ज्ञवालीलाई चयन गरिएको छ ।

केन्द्रीय आयोग गठनमा अनुशासन, लेखा परीक्षण र सल्लाहकार आयोग तत्कालिन एमाले र तत्कालिन माओवादी केन्द्रको भागमा निर्वाचन आयोग र जेष्ठ कम्युनिस्ट मञ्चको नेतृत्व परेको छ ।

प्रवासमा पार्टीको संगठन नबनाउने यस अघि नै निर्णय भई सकेको र प्रवासमा रहेका शुभचिन्तकलाई अन्य माध्यमबाट जोडिने नेकपाले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले कालापानी, लिपुलेक, लिम्पियाधुराको सीमानका विषयमा नेपालले प्रमाणहरु जुटाउन लागेको र यो विषयलाई कुटनीतिक च्यानल मार्फत कुरा राखिने जानकारी गराएका छन् । दिल्लीस्थित नेपाली राजदूत मार्फत भारतसरकारसँग यो विषयमा कुरा राखिएको बैठकमा उनले जानकारी गराए ।

सोमबारको सचिवालय बैठक बस्नु अघि नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालका बीचमा आईतबार भएको ‘वान टु वान’ छलफलमा भएको थियो ।

तत्कालिन एमाले र माओवादी केन्द्रका बीचमा ३ जेठ २०७५ मा पार्टी एकता भएको थियो । पार्टी एकता पछि एकीकरणको अधिकांश काम सकिए पनि अहिले सम्म पोलिटव्युरो कमिटी अझै गठन भएको छैन् ।

मन्त्री हेरफेरको प्रस्ताव आएन

प्रवक्ता श्रेष्ठका अनुसार मन्त्री हेरफेर बारे चर्चा भए पनि बैठकमा त्यस बिषयमा छलफल भएन् । मन्त्री फेरबदलको सम्भावनाबारे पत्रकारले सोधेको प्रश्नमा श्रेष्ठले प्रधानमन्त्रीले सरकारको कामलाई अझ प्रभावकारी र परीणाममुखी बनाउन चाहे मन्त्रिमण्डल पुनर्गठन हुन सक्ने बताए । ‘प्रधानमन्त्रीले पार्टीमा प्रस्ताव ल्याए त्यस विषयमा पनि छलफल हुन्छ,’ श्रेष्ठले भने ।

मन्त्रीपरिषद फेरबदलको बिषयमा प्रधानमन्त्रीको अधिकारको बिषय भएको बताउँदै उनले त्यस बिषयमा प्रस्ताव आएपछि छलफल गरिने बताए । बैठकमा मन्त्रीपरिषद फेरबदलको प्रस्ताव नै नआएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्