अनिलकेशरी पनि जेल जाने !



काठमाडौ : बैंकिङ क्षेत्रमा सेलीव्रेटीको रुपमा रहेका अनिलकेशरी शाह बैंकिङ कसुरमा जेल जानसक्ने भएका छन् । मेगा बैंकको कर्जा प्रवाह काण्डमा मुछिएपछि उनको यो दिन आउन लागेको कुराले बैंकिङ क्षेत्रमा हल्लाखल्ला मच्चाएको छ । कर्जा प्रवाहमा देखिएको अनियमितताले हाल नबिल बैंकका सीईओ अनिल केशरी शाहलाई समेत अप्ठेरो पर्ने देखिएको हो ।

शाह मेघाबैंकमा रहेको बखत प्रवाह गरेको भैरहवाको प्राइम रिडिमेबल राइस मिल अहिले टाँट पल्टिएको छ । हलोदेखि हाइड्रोसम्म नारा लिएर बैंकिङ क्षेत्रमा पाँचतारे बैंकको बिल्ला भिरेको मेगा बैंक यतिखेर आफूले प्रवाह गरेको कर्जा चुक्ता नपाउँदा अप्ठेरो अवस्थामा रहेको छ । बैंकले प्रवाह गरेको कर्जा चुक्ता नभएपछि बैंकका तत्कालिन सीईओ शाह यतिखेर तनावमा रहेको बुझिएको छ ।

यसरी कार्यकारी प्रमुख फँस्ने क्रम यसअघि बैंक अफ काठमाडौंका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ फँसेका थिए । स्रोतकाअनुसार मेगा बैंकले शाह उक्त बैंकको सीईओ हुँदा भैरहवाको प्राइम रिडिमेबल राइस मिललाई गलत तवरले धितोभन्दा अधिक कर्जा प्रवाह गरेको देखिएको छ । उक्त राइस मिलले मेगा बैंकलाई बुझाउनुपर्ने कर्जाको साँवा तथा ब्याज रकम ताकेता गर्दा पनि नबुझाएपछि कर्जा स्वीकृतिको क्रममै अपचलनको उद्देश्य राखेर प्रवाह भएको आशंका गरिएको छ ।

शाहले मेगाको सीईओ छँदै भैरहवा शाखाका प्रबन्धक र केन्द्रीय कार्यालयका एकजना कर्मचारीलाई मात्र उक्त कर्जा प्रवाहमा दोषी देखाएर बैंक सेवाबाट हट्न बाध्य बनाएका थिए । मेगा बैंकले पनि उक्त कर्जा असुुलीको लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्राचार गर्ने तयारी गरिरहेको छ । प्रहरीमा उक्त कर्जाको सम्बन्धमा उजुरी परेको खण्डमा शाहले समेत श्रेष्ठको नियति भोग्नसक्ने बैंकका कर्मचारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्