विपद व्यवस्थापन विज्ञ एआइजी ठूले राई सिइओ !



काठमाडौं : जोखिम न्यूनीकरण तथा विपद व्यवस्थापनका विज्ञ नेपाल प्रहरीका एआईजी ठूले राईलाई सरकारले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख (सिइओ) बनाउने भएको छ ।

ऐन बनेको २० महिनापछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखको लागि २०७६ कात्तिक ८ मा आवेदन माग गरेको थियो । सरकारले सो पदको लागि एआईजी राईलाई सिइओ बनाउने तरखरमा लागेको गृहश्रोतले बताएको छ ।

नेपाल प्रहरीमा विपद व्यवस्थापन र जोखिम न्यूनीकरणको क्षेत्रमा सबैभन्दा विज्ञ प्रहरी अफिसरको रुपमा परिचित राईलाई सरकारले नयाँ जिम्मेवारी दिन लागिएको हो । प्रहरी प्रधान कार्यालयको स्वीकृति लिएर प्राधिकरणको सिइओका लागि नेपाल प्रहरीका एआईजी राईले पनि आवेदन दिएका थिए ।

प्राधिकरणको सिइओका लागि योग्यता स्नातकोत्तर तोकिएको छ भने विपद व्यवस्थापन वा व्यवस्थापन वा जनप्रशासन सूचना प्रविधि सम्बन्धी कम्तीमा ३० कार्य दिवसको अधिकृतस्तर वा व्यवस्थापकीय तहको तालिम लिएको हुनुपर्ने उल्लेख गरेको छ । यी योग्यता पुगेका कारण राईलाई नै प्राधिकरणको सिइओ बनाउन लागिएको गृह श्रोतले जनाएको छ ।

प्राधिकरणको सिइओको कार्यकाल ५ वर्ष हुने व्यवस्था गरिएको छ । राई हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) मा कार्यरत छन् ।

विपद व्यवस्थापनका ज्ञाता

एआईजी राई नेपाल प्रहरीमा जोखिम न्यूनीकरण तथा विपद व्यवस्थापनमा सबैभन्दा काबिल प्रहरी अफिसर मानिन्छन् । नेपाल प्रहरीको विपद व्यवस्थापन महाशाखामा लामो समय कार्यरत एआईजी राईले नेपालमा महाभूकम्पमा गएको समयमा पनि महाशाखाको प्रमुखको रुपमा प्रहरीको नेतृत्व गरेका थिए । त्यस बेलाको भूमिकालाई सबैले प्रशंसा गरेका थिए । प्रहरीको विपद व्यवस्थापन महाशाखाको नीति निर्माणको नेतृत्व पनि उनलै गर्दै आएका छन् ।

नेपाल प्रहरीको नेतृत्व गरेर स्रोत व्यक्तिका रुपमा उनी विभिन्न मुलुकहरुमा समेत गएका छन् । प्रहरीमा जोखिम न्यूनीकरण तथा विपद व्यवस्थापनमा उनको गहिरो ज्ञान रहकै कारण पूर्व तयारी तथा जोखिम न्यूनीकरणका प्रशिक्षणहरुमा उनलाई खटाइने गरिएको छ ।

उनले सन् २००१ माएसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टर (एडीपीसी)द्वारा नेपालमा दिइएको तालिम लिएका छन् । थाइल्यान्डको बैंककबाट क्षेत्रीय प्रशिक्षकको तालिम, फिलिपिन्समा ‘मास्टर इस्टक्टर’को कोर्स गरेका छन् ।

नेपाल प्रहरीलाई पनि त्यस क्षेत्रमा विज्ञको आवश्यकता खड्किरहेको बेला उनले नेपालसहित फिलिपिन्स, बंगलादेश, भारत र पाकिस्तानमा समेत विज्ञका रुपमा काम गरे । उनले नेपाल प्रहरी विपद व्यवस्थापन महाशाखाको तालिम सञ्चालन गर्ने ‘कोर्स मनिटर’ तथा ‘कोर्ष को–अडिनेटर’ भई तालिमको रुपरेखा तयार गर्ने तथा जनशक्ति परिचालन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्