वीरगन्ज गोलीकाण्ड : आँखामा पट्टी बाँधेर गोली हानेको खुलेपछि प्रहरी समस्यामा



नरेश सरार्फ/वीरगन्ज : बालक अपहरणको आरोपमा गत कात्तिक २० गते प्रहरीले पर्साको पोखरीया नगरपालिका ९ सेमरवारीवर्वाका राजकुमार दासलाई गोली चलायो । यही विषय अहिले विवादमा परेको छ । पक्राउ गरेर आँखामा पट्टी लगाएर गोली हानेको खुलेपछि प्रहरी समस्यामा पर्ने भएको छ ।

दासका परिवारले आज (सोमबार) नेपाल पत्रकार महासंघका सभाहलमा पत्रकार सम्मेलन गरी प्रहरीले निर्दोषलाई फसाउने प्रयास गरेको बताएका छन् । दासका आमा रजान्ती देवीले पर्साकै पोखरीया नगरपालिका ६ श्रीसियाका अपहरित बालक भनिने १८ वर्षीय अफरोज खान, सेमरवारीवर्वाकै फिरोज राय र फिरोज रायका फुफाँजु भारत बिहार रक्सौल स्थित परेउँवा गाउँका अरमान राय भाटले फसाएको आरोप लगाए ।

उनीहरुले काभ्रेको बनेपाबाट अपहरणमा परेको भनिएको पोखरीया– ६ सिर्सिया बस्ने अम्जत खानको छोरा अफरोज खान, पोखरीया–९ सेमरबारीकै अफलातुन रायको छोरा फिरोज रायले राजकुमारलाई फसाएको बताए ।

राजकुमार कात्तिक १९ गते अपराह्न मामा नन्दु दासको बाईक लिएर किराना समान खरिद गर्न रक्सौल गएका थिए । रक्सौलमा परेउवा टोलस्थित रेलको ढाला नजिकै छिमेकी फिरोजसँग भेट भएको थियो । उनले फकाएर फिरोजलाई फुपा नाता पर्ने अरमान भाटको घरमा लगेका बुबा भिखारी दासले बताए ।

अरमानको घरमा राजकुमारले नचिनेका ६-७ जना मानिसहरु पनि थिए । त्यहाँ कपडाले आँखा र हात बाँधेर सर्टको खल्तीमा फलामे बस्तु जस्ता चार पाँचवटा समान राखेर गाडी चढाएको राजकुमारले अभिभावकसँगको भेटमा बताएका थिए । पछि गाडीबाट उतारेर भूँईमा राखी दायाँ खुट्टामा दुईपटक गोली हानीएको र आफू त्यसपछि बेहोस भएको राजकुमारले भनेको बुबा दासले बताए ।

यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले दासले बालकको अपहरण गरेको आरोप घुडामुनी गोली हानेर नियन्त्रणमा लिएको बताएका छन् । वीरगन्ज खालवा टोला श्रीसियामा अपहरित बालक भनिने अफरोज खानको बुवा अफजल खानसँग फिरौती बापत १२ लाख रुपैया माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्