लिम्पियाधुरालाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन



काठमाडौं : कालापानी, लिपुलेक लिम्पियाधुरा क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा प्रकाशित गर्न सरकारलाई प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले निर्देशन दिएको छ ।

आज (सोमबार) समितिले महाकाली क्षेत्रको सीमा विवादबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको थियो । तर प्रधानमन्त्रीको सट्टा भूमि व्यवस्थामन्त्री पदमा अर्याल बैठकमा उपस्थित थिइन् । मन्त्री अर्यालले पनि नेपालको हाल प्रयोगमा रहेको नक्सा त्रुटिपूर्ण रहेको स्वीकार गरेकी थिइन् ।

छलफलपछि समितिका सभापति शशी श्रेष्ठले लिम्पियाधुरालाई सीमा मानेर नयाँ नक्सा प्रकाशित गर्न निर्देशन दिएकी छन् । त्यस्तै नयाँ नक्साअनुसार पाठ्यक्रमहरुमा सुधार गर्नसमेत समितिले सरकारलाई निर्देशन दिएको छ ।

नेपालले जारीको नक्सामा लिपुलेक र कालापनी मात्रै समेटिएको छ ।

साथै समितिले अन्य स्थानका सीमा विवाद समाचान गर्न तत्काल पहल गर्न समेत सरकारलाई निर्देशन दिएको छ । भारतीय अतिक्रमणविरुद्ध एकजुट भएर अगाडि बढ्न पनि समितिले अपील गरेको छ ।

भारतले हालै जारी गरेका नयाँ राजनीतिक नक्सामा लिपुलेक र कालापानी समावेश गरेको नेपालभर विरोध प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्