प्रदेश सरकारको प्राथमिकतामा पारवहन र सिँचाइ



वीरगन्ज : प्रदेश दुईका भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले प्देश सरकारले पारवहन र सिँचाइलाई प्राथमिकतामा राखेको बताएका छन् । मंगलबार वीरगन्जमा आयोजित एक कार्यक्रममा मन्त्री सोनलले प्रदेश सरकारले कृषि क्षेत्रको आधुनिकिकरणमा ध्यान दिएको बताएका हुन् । 

‘दुई नम्बर प्रदेशमा उद्योग, कृषि र धार्मिक पर्यटनको सम्भावना बढी छ,’ उनले भने, ‘कृषिको व्यसायिकरण हुन नसक्दा किसान लाभान्वित हुन सकेका छैनन् ।’ किसानलाई तुलनात्मक लाभका उत्पादनमा प्रोत्साहन गर्नेगरि प्रदेशले योजना बनाइरहेको उनले जानकारी दिए । 

मन्त्री सोनलले प्रदेश सरकारले सौर्य ऊर्जाबाट ५० मेगावाट विद्युत् उत्पादनको प्रक्रिया अघि बढाएको बताए । प्रदेशसभाबाट विद्युत् उत्पादनको विधेयक पास हुने बित्तिकै ५० मेगावाट विद्युत् उत्पादन थाल्ने उनले जानकारी दिए । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ यातायात तथा पारवहन समितिका संयोजक अशोक कुमार टेमानीले सरकारले अख्तियार गरेको आयातमा आधारित राजस्वमुखी नीति गलत भएको धारणा राखे । 

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले संघीय सरकारले प्रदेशलाई विभेद गरेको आरोप लगाए । 

कार्यक्रमका अधिकांश वक्ताले प्रदेश २ को विकासको मुख्य आधार उद्योग, कृषि र पर्यटन भएकाले यी सबै क्षेत्रलाई प्राथमिकतामा राख्न प्रदेश सरकारलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्