शीतलहरप्रति सिडिओको चासो



वीरगन्ज : पर्सा प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले जिल्लाका विपन्न नागरिकलाई शीतलहरबाट प्रभावित हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

मगंलबार बसेको विपद् व्यवस्थापन समितिको बैठकमा प्रजिअ भट्टराईले अतिपिछडिएका तथा विपन्न समुदायका व्यक्तिलाई शीतलहरबाट जोगाउने कार्यक्रम सुरु गर्न सबै स्थानीय तहका प्रमुखलाई आग्रह गरेका छन् ।   

बैठकमा पर्साका १४ वटै स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई प्रजिअ भट्टराईले भने, ‘पिछडिएका र अतिविपन्न समुदायका व्यक्तिको तथ्यांक संकलन गरी यसको पूर्वतयारीमा जुट्नुहोस् ।’ 

शीतलहर तथा चिसो बढेपछि जनजीवन निकै प्रभावित भई जनधनको समेत क्षति हुने सम्भावना रहेकाले समयमै सचेत हुन उनले आग्रह गरे । शीतलहरबाट जोगिने उपायको व्यापक प्रचारप्रसार गर्न पनि उनले सुझाए ।  

प्रजिअ भट्टराईले मदिरा सेवन नगर्न, तातो खानेकुरा खान, न्यानो लुगा लगाउन र जथाभावी बालबालिकालाई घरबाट बाहिर जान नदिन पनि आग्रह गरे ।  

उनले शीतलहरको जोखिममा पर्न सक्ने व्यक्ति पहिचान गरी तत्काल राहत सामग्री उपलब्ध गराउन, शीतलहर पूर्व न्यानोलुगा र खानेकुराको व्यवस्थापन गरी जगेडा गर्न र गाउँ तथा नगरपालिकाका विभिन्न स्थानमा दाउरा बाल्ने व्यवस्था मिलाउन सवै तहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई सचेत गराए ।

प्रतिक्रिया दिनुहोस्