स्वर्ण विजेता महेश्वरलाई अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत



काठमाडौं : विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण पदक जितेका महेश्वर महर्जनलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।

 

थाइल्यान्डको चाङमाईमा डिसेम्बर ११ देखि १७ सम्म भएको १०औं विश्व शारीरिक सुगठन तथा स्पोर्टस् फिजिक च्याम्पियनसिपअन्तर्गत शारीरिक सुगठनको पुरुष ७५ केजीमा महेश्वरले स्वर्ण जितेका थिए। 

 

नेपाली शारीरिक सुगठनको इतिहासमा यो पदक अहिलेसम्मकै ठूलो र एक मात्र उपलब्धि हो। विश्व शारीरिक सुगठनमा नेपालले रजत पदक मात्र जितेको छ। यसअघि गत वर्ष मंगोलियामा भएको विश्व शारीरिक सुगठनको नवौं संस्करणमा ननिता महर्जन तथा थाइल्यान्डमा भएको सातौं संस्करणमा रुजेश शाहीले रजत पदक जितेका थिए।

 

महेश्वर एसियाली शारीरिक सुगठनका पनि एकमात्र स्वर्ण विजेता नेपाली खेलाडी हुन्। महेश्वरले भुटानमा भएको ५०औं एसियाली शारीरिक सुगठनमा उक्त सफलता हात पारेका थिए। ३५ वर्षीय महेश्वर ११औं दक्षिण एसियाली शारीरिक सुगठनका पनि कांस्य विजेता हुन्।

 

महेश्वरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिना, नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, आफन्त लगायतले भव्य स्वागत गरेका थिए।

 

महेश्वरले विश्व शारीरिक सुगठनमा स्वर्ण जित्दै इतिहास रचेकोमा खुसी व्यक्त गर्दै आफ्नो सपना साकार भएको बताए।

 

उपाध्यक्ष तिम्सिनाले इतिहास रचेका महेश्वरलाई उचित पुरस्कारका लागि राष्ट्रिय खेलकुद परिषद्ले नेपाल सरकारसमक्ष चाँडै सिफारिस गर्ने बताए। नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले व्यक्तिगत रूपमा महेश्वरलाई तीन लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे।

प्रतिक्रिया दिनुहोस्