आलमविरुद्ध बयान फेर्दै पीडित



रौतहट : रौतहटको राजपुर फरदहवामा भएको बम विस्फोट घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका कांग्रेसका नेता एवम पूर्वमन्त्री मोहम्मद अफताव आलमको थुनछेक बहसकै क्रममा पीडित भनिएकाहरुले आफूहरु पीडित नभएको भनी लिखित निवेदन दिएका छन् ।

विस्फोटमा मृत्यु भएको भनिएका सरुअठाका ओसी अख्तरका श्रीमती आमना खातुनले आफ्नो श्रीमान वैदेशिक रोजगारीकै क्रममा बाहिर रहेको भनी निवेदन दिएकी छन्। त्यस्तै विस्फोटमा घाइते भएका भनिएका भारतीय नागरिक गौरीशंकर रामले सोमबार जिल्ला अदालत समक्ष आफू अन्य कारणले घाइते भएको भनी निवेदन दर्ता गराएका छन्।

ओसी वैदेशिक रोजगारीको क्रममा बाहिर रहेको भन्दै आमनाले अदालत समक्ष दिएको निवेदन सोमबार दर्ता गरिएको छ। त्यस्तै घाइते भारतको बैरगनियाका रामले आफू बम विस्फोटमा घाइते नभएको भनी निवेदन दर्ता गराएको अदालतका श्रेस्तादार गुणराज पराजुलीले पुष्टि गरे। ‘दुवैको निवेदन मिसिलमा समापेश भइसकेको छ,’ उनले भने, ‘यस विषयमा थुनछेकमा बहस होला।’
२०६४ चैत २७ गते बम विस्फोटको घटनामा सांसद आलम संलग्न रहेको भनी प्रहरी समक्ष बयान दिएका भारतीय नागरिक रामले आफू विस्फोटमा नभई भान्सामा काम गर्ने क्रममा घाइते भएको भनी अदालत समक्ष निवेदन दिएका हुन्।

रामले कानुन व्यवसायी मार्फत आफू सन् २००१ मा घरमा खाना पकाउने ग्यास विस्फोट भएर घाइते भएको भनी निवेदन दर्ता गराएका छन्। उनले बम विस्फोटमा घाइते भएको प्रमाणस्वरुप भारत सीतामढीको एक अस्पतालको कागज पनि पेश गरेका छन्।

यता विस्फोटमा घाइते अवस्थामा सांसद आलमले ओसीलाई जिउँदै चिम्नि भट्टामा हालेर मारेको भन्दै उनका आमा रोक्साना खातुनले प्रहरी समक्ष किटानी जाहेरी दिएका थिए। ओसिका ससुरा समसुल मियाँले समेत आलमले आफ्नो ज्वाइँको हत्या गरेको लिखित बयान दिएको कागज अदालतमा छ। वादीका कानुन व्यवसायीहरुले यसलाई होस्टाइलको संज्ञा दिएका छन्।

आलम पक्षको बहस

राजपुर बम काण्डसम्बन्धी मुद्दाका आरोपी आलमको पक्षमा जिल्ला अदालतमा सोमबारबाट बहस सुरु भएको छ। आलमविरुद्ध कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोटन भण्डारणको आरोपको मुद्दामा थुनछेक बहस जारी छ। अदालतमा आलम पक्षका अधिवक्ताहरुले बहस गरिरहँदा बाहिर उनका समर्थकले सदरमुकाम गौरमा प्रदर्शन गरेका थिए। सदरमुकाम गौरको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

कानुन व्यवसायी अधिवक्ता सुनिल पोखरेलले पहिलो बहस गरेका थिए। आलमको पक्षमा वकालत गर्दै उनले प्रमाण बिना कसैलाई फसाउन नपाइने जिकिर गरे। वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले राजपुर घटना राजनीति प्रतिशोध साध्ने एउटा खेल भएको बताए। अधिवक्ता कृष्ण घिमिरे र योगेन्द्रबहादुर अधिकारीले पनि आलमको पक्षमा बहस गरेका थिए। यो समाचार आजको कान्तिपुर दैनिकमा शिव पुरीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्