जापानी लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक



काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री मातृका प्रसाद यादव र जापानी प्रेसिडन्ट अफ जापान इन्टरनेशनल रिसर्च सेन्टर फर एग्रिकल्चरल साइन्सेजका डा. मासारु इवानागाबीच भेटवार्ता भएको छ ।

सोमबार अपराह्न आपूर्ती मन्त्री यादव र जापानी प्रेसिडन्ट अफ जापान इन्टरनेशनलका डा. इवानागाबीच मन्त्री यादवको कार्यकक्षमा भेटघाट भएको हो ।

भेटमा मन्त्री यादवले निरन्तरको जापानी सहयोगको लागि धन्यवाद व्यक्त गर्दै यस्ता खाले भ्रमण, छलफल र सहकार्यले सम्बन्धलाई नयाँ उचाईमा पुर्याएको विचार व्यक्त गरे । उनले नेपालको उन्नति र प्रगतिमा हालसम्म जापानले गरेको सहयोगको उच्च मूल्यांकन गर्दै कृषिको मूल्य अभिवृद्धि हुने क्षेत्रमा लगानी गर्न आग्रह समेत गरे ।

साथै मन्त्री यादवले नेपालमा राजनीतिक स्थिरता, कानूनी एवं संरचनागत सुधारले विदेशी लगानीको वातावरण निर्माण भएको स्पष्ट पार्दै जापानको सरकारी र निजी दुबै स्तरबाट नेपालमा लगानी गर्न विशेष आग्रहसमेत गरे ।

भेटमा जापानका प्रेसिडन्ट अफ जापान इन्टरनेशनल रिसर्च सेन्टर फर एग्रिकल्चरल साइन्सेज इवानागाले जापानी लगानीकर्ता नेपालमा लगानी गर्न आउन इच्छुक र उत्सुक रहेको बताए । राजनीतिक स्थिरता हासिल गरी कानून र पूर्वाधार निर्माणमा नेपालले गरेको प्रगतिले यहाँ लगानी गर्न उत्प्रेरित गरेको बताए ।

कृषि उत्पादनमा नेपालको भौगोलिक विविधता महत्वपूर्ण रहेको बताउँदै कृषिको विकास र लगानीका लागि नेपाल कृषि अनुसान्धान परिषद नार्कसँग समन्वय गर्ने कार्य भइरहेको बताए । भेटमा नेपालको लागि जापानी राजदूत महामहिम मासा मिचिसैगोसमेतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्