ठगी काण्डमा मुछिएपछि उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पद्म ज्योति पनि पक्राउ पर्ने



काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा प्रतिष्ठित व्यावसायिक घराना ज्योति समूहका अध्यक्ष पद्म ज्योति पनि ठगीकाण्डमा मुछिएका छन् । पूर्व अर्थराज्यमन्त्री रुप ज्याति र उनकी छोरी सुरुचीलाई ठगी काण्डमा पक्राउ गरेको प्रहरीले रुप ज्योतिका दाजु ज्योतिलाई पक्राउ गर्न खोजी गरिरहेको छ ।

काठमाडौं जिल्ला अदालतले ज्योति ग्रुपका अध्यक्ष चर्चित व्यवसायी ज्योतिलाई पक्राउ गर्न अनुमति दिएपछि प्रहरीले पद्म ज्योतिलाई पक्राउ गर्ने तयारी गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौका प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले रुप ज्योतिका दाई पद्म ज्योतिको पनि ठगीकाण्डमा मिलेमतो रहेको देखेर पक्राउ गर्न अदालतको अनुमति माग गरेपछि अदालतले आदेश दिएको बताएका छन् । ल्याण्डमार्क डेभलपर्सको नाममा आफूलाई ठगी गरेको भन्दै काठमाडौंका विजेन्द्रकृष्ण मल्लले दिएको उजुरीका आधारमा प्रहरीले ज्योतिलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति मागेको थियो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले ज्योतिलाई पक्राउको अनुमति दिएको जनाइएको छ ।

मल्लको उजुरीकै आधारमा प्रहरीले पद्म ज्योतिका भाई डा. रूप ज्योतिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । अदालतले पद्म ज्योति, सौरभ ज्योतिलगायत ज्योति समूहका ११ जना सदस्यविरुद्ध २० मंसिर २०७५ मा नै पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्