माकुराको जालोले भरियो रेसम विकास केन्द्र



काभ्रे : पनौती नगरपालिका–१० खोपासीमा रहेको नेपालको एक मात्रै रेसमखेती विकास केन्द्र माकुराको जालोले भरिएको छ । ०७२ को भूकम्पले क्षति पु¥याएको केन्द्रको भवन पुनर्निर्माण हुन नसक्दा माकुराले घर जमाएको हो ।  

केन्द्रको मुख्य भवनबाहेक अन्यमा भित्र पस्ने अवस्था नै नरहेको केन्द्रका कार्यालय प्रमुख चुडामणि भट्टराईले बताए । जसका कारण केन्द्रले विदेशबाट ल्याएको उन्नत जातको रेसम संरक्षण र रेसम किराको फुल उत्पादनमा समस्या भएको उनले बताए । 

कृषकलाई रेसम किरा वितरण गर्ने एक मात्रै निकाय यही हो । भूकम्पले चिराचिरा परेको भवनमा कार्यालय सञ्चालन गर्नुपरेको उनले गुनासो गरे । यद्यपि, जीर्ण भवनबाटै किरा संरक्षण, भण्डारण र अन्डा उत्पादन गर्दै आएको कर्मचारी बताउँछन् । 

सुरु–सुरुमा विभिन्न फार्महरू र कृषकबाट रेसमका कोकुनहरू खरिद गर्ने र त्यही धागो कात्ने र बेच्ने भन्ने उद्देश्यले केन्द्र स्थापना भएको थियो । तर, पछि किसानले आफैँ धागो कात्न थालेपछि केन्द्रले बन्द गरेको भट्टराईले बताए । 

सो काम बन्द गरेपछि धागो प्रशोधन इकाइको भवन माकुराको जालो र झारले घेरेको उनको भनाइ छ । भूकम्पपछि त कोही पनि भित्र नगएको उनले बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्