प्रहरीमा अर्को गोली काण्डले हलचल



काठमाडौं : सर्लाहीमा कुमार पौडेल घटनासँग जोडिएको प्रहरी इन्काउन्टरले चर्चा पाइरहेका बेला यही कात्तिक २० गते पर्सामा फिरौतीसँग जोडिएको अर्को प्रहरी इन्काउन्टर पनि विवादमा परेका छ ।यो विवादमा मुछिएका छन्, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सोमेन्द्रसिंह राठौर । पीडितले पत्रकार सम्मेलन गरेर यो घटनाको तथ्य बाहिर ल्याएपछि एसपी राठौर अप्ठेरोमा परेका छन् । यो घटनामा गृहमन्त्रालय समत चासो दिएपछि प्रहरी मुख्यालयले छानबिन गर्ने तयारी गरेको छ ।

सर्लाहीमा प्रतिबन्धित विप्लव नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेलको गिरफ्तारीपछि गोली हानी हत्या गरिएको घटनासँग जोडिएका प्रहरी अधिकारीमाथि कारवाही चलाउन किटानीका साथ राष्ट्रिय मानवअधिकार आयोगले सिफरिस गरेपछिको अवस्थामा पर्साको अर्को इन्काउन्टर नक्कली भएको कुरा खुल्न आएको छ ।

कात्तिक २० गते पर्सा प्रहरीले २० वर्षीय राजकुमार दासलाई बालक अपहरण फिरौती लिन गएको अवस्थामा समातेर कब्जामा लिई गोली हानिएको भनी उनका बुवा भिखारी दास र आमा वैजन्ती देवीले पत्रकार सम्मेलन गरी घटनाको बारेमा धारणा सार्वजनिक गरेपछि यो प्रहरीको इन्काउन्टर अर्को विवादित विषय बन्न पुगेको छ ।

राजकुमार कात्तिक १९ गते अपरान्ह मामा नन्दु दासको बाइक लिएर किराना समान खरिद गर्न रक्सौल गएको उनका आमाबाबाले बताइरहँदा प्रहरीले भने उनी फिरौतीका लागि तोकिएको स्थान र समयमा फिरौती दिने भनिएका मानिससँग भेट गर्न पुगेका थिए ।

तर पत्रकार सम्मेलनमा दासका आमाबाबाले राजकुमार दासले भनेको भनी उद्धृत गर्दै नचिनेका ६÷७ जना मानिसले समाती कपडाले आँखा छोपी हात बाँधेर सर्टको खल्तीमा फलामे बस्तु जस्ता चार पाँचवटा समान राखेर गाडी चढाएको बताए । उनीहरुले केही समयको यात्रापछि गाडीबाट भूइँमा उतारेर दायाँ खुट्टामा दुईपटक गोली हान्दा छोरा राजकुमार दास बेहोस भएको भनी सार्वजनिक गरे । तर प्रहरीले भने यसलाई इन्कार गर्दै फिरौती रकम बुझ्न जाँदा बन्दुक देखाएर पैसाको झोला खोसेर भाग्न खोजेकोले राजकुमारलाई गोली हानिएको दाबी गरेको छ ।

हाल राजकुमार दासका आमाबाबा मानव अधिकार आयोगमा उजुरी दिने तयारीमा छन् । पक्राउ गरेर आँखामा पट्टी लगाई खुट्टामा गोली हानेको खुलेपछि प्रहरी समस्यामा पर्ने देखिएको छ । रक्सौलमा परेउवा टोलस्थित रेलको ढाला नजिकै छिमेकी फिरोजसँग भेट भएपछि उनले फकाएर फिरोजलाई फुपा नाता पर्ने अरमान भाटको घरमा लगेको र त्यहीबाट उनलाई समात्न लगाइएको भन्ने कुरा राजकुमार दासका बुबाआमाले जिकिर गरेपछि यो घटना पुनः अनुसन्धानको दायरामा पर्न गएको देखिन्छ ।

वीरगन्ज खालवा टोला सिरिसियामा अपहरित बालक भनिने अफरोज खानको बुवा अफजल खानसँग फिरौती बापत १२ लाख रुपैया माग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्