निर्मला हत्याकाण्डः अनुसन्धानमा नयाँ पात्र खोज्दै प्रहरी



महेन्द्रनगर : निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच महिना पुरा भएको छ । गृहकार्य गर्न साथीको घर जान्छुँ भनेर गएकी भीमदत्त नगरपालिका–२ की १३ वर्षीय बालिका पन्तको अर्को दिन बलात्कार पछि हत्या गरिएको अवस्थामा साथीको घर नजिकको उखुवारीमा शव भेटिएको थियो ।

 

घटना भएको ५ महिना बितिसक्दा पनि अनुसन्धानको प्रगति भने शून्यमै रहेको छ । घटनाको ५ महिना अवधिमा प्रहरीले हत्यारा पत्ता लगाउन गरेको प्रयास बिफल भएका छन् । प्रहरीलाई अहिले सम्म पनि हत्यारा नजिक पुग्ने कुनै ठोस प्रमाण हात पार्न नसेको स्रोतको भनाई छ ।

 

निर्मलाको शव भेटिएको दिन साउन ११ देखिनै अनुसन्धानमा जुटेको कञ्चनपुर प्रहरीले अहिलेसम्म घटनामा संलग्न अपराधीबारे कुनै ठोस प्रमाण जुटाउन सकेको छैन । अनुसन्धानामा कञ्चनपुर प्रहरीलाई सीआईबीको टोलि संगै अन्य टिमले सघाई रहेको छ ।

 

निर्मला हत्याकाण्ड प्रहरीका लागि निकै पेचिलो घटना भइरहेको बेला घटनाकोे अनुसन्धानका लागि ७ समिति गठन भए पनि सफल हुन सकेका छैनन् ।पछिल्लो समय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलिले काठमाडौँबाट प्रक्राउ गरेको भीमदत्त नगरपालिका–१८ का प्रदिप रावलले साबिती बयान दिएको भन्ने तथ्य बाहिर आएपछि प्रहरी हत्यारा नजिक पुगेको संकेत गरेको थियो ।

 

तर उनको बयानपछि काठमाडौँ झिकाइएका भीमदत्त नगरपालिलका–१८ का उनका सहकर्मी दिनेश र बिशाल चौधरी भने प्रहरीको अनुसन्धान पछि छुटेका छन् । डर, धम्कि र प्रलोभन देखाएर हत्या कबुल गर्न नगाएको बिशालको भनाई छ । प्रदिपलाई अहिले पनि छोडिएको छैन । उनि माथि सुक्ष्म अनुसन्धान भइरहेको स्रोत बताउँछ ।

 

अनुसन्धानका लागि नयाँ पात्रको खोजी गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ । डिएसपी कृष्णराज ओझाले शंकास्पद व्यबहार भएकाहरु माथी सोधपुछ गरेर नयाँ पात्रको खोजीमा रहेको बताएका छन् । उनले भने, ‘ हामी अनुसन्धानमैँ छौँ, निष्कर्षमा पुगिसकेको छैनौँ, शंकास्पदहरुलाई सोधपुछ गरिरहेकाले नयाँ पात्रको खोजी भइरहेको छ ।’

 

घटनाको अनुसन्धानमा आफुहरु रातदिन नभनि लागेकोले परिणाम छिट्टै निस्किने उनको भनाई छ । घटनामा कुनै निर्दोषलाई फसाउने काम नभएको उनको दाबी छ । बिशाललाई अभिभावकसहित काठमाडौं पठाएको तर उनलाई यहाँ कुनै यातना दिने काम नभएको उनको भनाई रहेको समाचारपत्रमा खवर छ ।

 

उनले भने, ‘हामीले माथिबाट बोलाइपछि उनलाई पठाएका हौँ, यहाँ उसलाई यातना दिने कुनै काम भएको छैन, हामी यहाँ कुनै अप्रिय शब्द समेत बोल्दैनौँ, कुटपिटको त कुरै छोड्नुस ।, माथी के भयो हामीलाई त्यसको जानकारी भएन ।’

 

यस्तै उनले डिएनए रिपोर्ट जिल्ला प्रहरी कार्यालय कञ्चनपुर नपुगेको बताए । यसैमा उनले थपे, ‘आजका दिनसम्म डिएनए रिपोर्ट यहाँ पुगेको छैन, कहिलेसम्म आउँछ भनेर हामीले माथी सोध्न मिल्दैन ।’

 

अनुसन्धानका क्रममा प्रमाण नष्ट गर्ने र निर्दाेषहरूलाई यातना दिन प्रहरीेविरुद्ध दिइएको जाहेरी दर्ता भएर अनुसन्धान प्रक्रियामा गएको डिएसपी ओझाले बताए । सार्वजनिक न्यायविरुद्धको कसुरमा निर्मलाकी आमा दुर्गादेवी र यातनासम्बन्धी कसुरमा दिलीप विष्टका दाइ खडक विष्टले गत सोमवार जाहेरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्