मौरी चराउन आउनेलाई यसरी लखेटे मेयर कक्षपतीले



प्युठान : जिल्ला बाहिरबाट मौरी चराउन ल्याउने किसानलाई प्युठान नगरपकिाका मेयर अर्जुन कक्षपतीले धपाएका छन् । सर्लाहीबाट मौरी चराउन गएका प्युठान पुगेका मौरी पालक हेमराज देवकोटाले आफूलाई मेयर कक्षपतीले लखेटेको बताए ।

आफूलाई मेयरले ‘५ नम्बर प्रदेशमा बाहिरबाट मौरी लिएर किन आको ? अन्य प्रदेशको मौरी लिएर यहाँ आउन पाउनुहुन्न’ भनेको मौरी पालक देवकोटाले बताए ।

मेयर कक्षपतीसँग आफूले थप कुरा गर्न खोज्दा उल्टै हपारेको समेत देवकोटाले गुनासो गरे ।

मेयर कक्षपतीले देवकोटासँग त्यस्तो नराम्रो कुरा केही नभएको तर स्थानीयतहमा स्थानीय सरकार भएकोले स्थानीय सरकारको अनुमति चाहिने व्यवस्था रहेको आफूले उल्लेख गरेको बताए ।

तोरी र चिउरी फूल्ने यो सिजनमा कपिलवस्तु,नवरपरासी, रुपन्देही, चितवन सर्लाहीलगायत जिल्लाबाट बर्सेनि प्युठानमा माहुरी चराउनका लागि किसानहरु आउने गर्दछन् ।

यता माहुरी पालक किसान संघ प्युठानका अध्यक्ष विष्णु सारुले भने बाहिरका किसानहरुलाई यहाँ माहुरी चराउनका लागि कुनै अवरोध नभएको दाबी गरे । यसैगरी महासंघले मौरी चरनमा रोक लगाउने त्यस्तो कुनै निर्णय नगरेको जानकारी दिँदै उनले भने– ‘हामीले कसैलाई रोकेका छैनौँ ।’

महासंघले पनि जिल्लाभन्दा बाहिर माहुरी चराउन लैजाँदा त्यहाँका किसानहरुसँग समन्वय गरेर लैजान भनेको छ ।

यहाँ उत्पादित मह प्युठानसहित दाङ, नेपालगञ्ज, कपिलवस्तु, रुपन्देही, काठमाडौं र पोखरालगायतका शहरमा पुग्छन् ।

प्रतिक्रिया दिनुहोस्