पुर्नवासको सीमास्तम्भमा जान नेपालीलाई रोक, प्यारातालमा पनि भारतको दाबी



कञ्चनपुर : वि.स. २०७३ साल फागुन महिनाको तेस्रो साता नेपालको पुर्नवासमा आएर भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपालीहरुमाथि अन्धाधुन्द गोली चलायो ।

त्यतिबेला एसएसबीले चलाएको गोली लागी कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं ८ मा पर्ने नेपाल–भारत सीमा क्षेत्र आनन्दबजारका ३२ वर्षीय गोविन्द गौतमको मृत्यु भएको थियो । यस्तै गोली लागेर एक गम्भीर घाइते भएभने ५ सर्वसाधारण घाइते भए । यसरी विवाद हुनुको मुख्य कारण थियो : सीमाक्षेत्रभन्दा आधा किलोमिटर वर नालामा भारतीय बजार बसही आवतजावत गर्न एक स्थानीयले ह्युमपाइप राखेर कच्ची कल्भर्ट बनाउनु । नेपाली भूमिमै कल्भर्ट बनाइए पनि एसएसबीले भारतको भूमि भएको दाबी गरेपछि विवाद भएको थियो ।

माटो पुर्ने क्रममा भारतीय क्षेत्रबाट अवरोध आएको थियो । त्यस विषयलाई लिएर स्थानीयले बिरोध जनायो । त्यसक्रममा भारतीय पक्षबाट पटकपटक ज्यादती सहन नसकेपछि स्थानीयहरुले विरोध मात्र जनाएनन् फलतः झडप नै भो र गालीसम्म चलेको थियो ।

यो घटना घटेको तीन वर्ष पुग्नै लाग्दा फेरी भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो देशको नक्सामा गाभेको छ । जुन अहिले फेरी दशैभरी विरोध भइरहेको छ ।

पुर्नवास नगरपालिकाका मेयर जीवनराज थापाका अनुसार त्यसबेला आनन्दबजारस्थित नेपाली भूमिमा कल्भर्ट बनाउन लाग्दा गुगल म्यापले भारतको भूमि देखाएको भन्दै एसएसबीले काम रोक्न धम्की दिएपछि केही दिनअघि विवाद शुरु भएको थियो ।

भारतीय एसएसबीका जवानले नेपाली भूमिमा छिरेरै नेपालीहरूलाई कुटपिट गरी घाइते बनाएका थिए । त्यसैको प्रतिकारस्वरुप अर्को दिन बिहानैदेखि सीमामा नारा जुलुस भएको थियो । भारतीय सुरक्षाफौजको ज्यादतीको विरोधमा स्थानीय नेपालीहरू सीमा बन्द गराएर विरोधमा उत्रिएका थिए । नेपालीहरुले भारतको कडा रुपमा विरोध गरेका थिए त्यसबेला । एसएसबीका जवानहरूले नेपाल छिरेर प्रदर्शन गरिरहेका केही नेपालीलाई कुटपिट गरेपछि आक्रोशित स्थानीयवासी घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका थिए । उनीहरूले गोलीको प्रतिकार गुलेलीले गरेका थिए । गोली छेक्न बेल्चा र कराहीको प्रयोग भएको थियो ।

यसरी भारतीय पक्षको दादागिरीलाई त्यसबेला स्थानीयहरुले खुलेर विरोध गरेका थिए । अझै पनि नेपालले भोगचलन गर्दै आएको प्यारा ताल केही वर्षयता भारतले आफ्नो रहेको दाबी गर्न थालेको छ । २०२४ सालदेखि बसोबास गर्दै स्थानीयका अनुसार प्यारा तालको पारीपट्टी समेत नेपाली भूभाग भएको बताउछन् ।

उता पुनर्वास नगरपालिका–४ आनन्द बजार नजिक रहेको सुकेको डुम्रीको रुखलाई २०० नम्बर सीमास्तम्भ दाबी गर्दै आएको भारतले अहिले आनन्द बजार छेउकै सिमलको रुखलाई आफुनो सीमास्तम्भ रहेको दाबी गर्छन् ।

यसरी सीमा सर्भेका बेला अग्लो ठाँउबाट नक्सांकन गर्न सजिलो हुने भन्दै छनोट गरिएको ठाउँमा रहेको सिमलको रुखलाई भारतले सीमास्तम्भ दाबी गरेको हो । स्थानीयका अनुसार डुम्रीको रुखभन्दा करिब तीन सय मिटर परसम्म नेपाल भूमि पर्छ भने सिमलको रुखभन्दा एक सय मिटर पर नेपालीले वर्षौँदेखि भोगचलन गर्दै आएको जमिन हो ।

यता, संयुक्त सर्भेबाट सीमा विवाद टुङ्यो लाग्ने आशामा रहेका आनन्द बजारबासी भने सर्भे टोलीको कमजोरीका कारण भारतले पुरानो स्थानभन्दा झन् वर (नेपालतर्फ) सीमास्तम्भ दाबी गरेपछि चिन्तित बनेका छन् ।

१ सय ९५ नम्बर सीमा स्तम्भ प्यारा तालको पारिपट्टि छ । जसले गर्दा नेपाली भूमिबाट सिधै सीमा स्तम्भमा जान सकिँदैन । त्यहाँ पुग्न कि प्यारा ताल तरेर पारी जानुपर्ने हुन्छ, कि १ सय ९४ नम्बर सीमा स्तम्भ नजिक भारतीय भूमीमा रहेको काठे पुलको प्रयोग गरेर जानुपर्दछ । तर, पुलकै पारिपट्टि नजिकै एसएसबीको क्याम्प भएकाले वारि कोही जानासाथ सोधपुछका लागि एसएसबीहरु नेपाली भूमिमा नै आउने गर्दछन् ।

उनका अनुसार प्यारा तालबाट झण्डै ५–६ सय मिटर पर १ सय ९५ नम्बर सीमा स्तम्भ छ ।

‘पिल्लर भन्दा ५६ सय मिटर परसम्म नेपालको भूमि छ’, उनले भने–‘अहिले भारतीयले प्यारा ताल वारिको खेत पनि आफ्नो भूभाग भनेर दाबी गर्दैछन् ।’ नेपाली पक्षले बेवास्ता गर्दा भारतले तालसमेत आफ्नो पार्न खोजेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्