विद्युत् चोरी नियन्त्रण गर्न पुगेको प्रहरी देख्नासाथ हृदयघात, सरकारसँग क्षतिपुर्ती दावी !



काठमाडौं: विद्युत् चोरी नियन्त्रणमा गएको प्रहरी टोली देख्नेवितिकै सप्तरीमा एक महिलाको हृदयघात भएर मृत्यु भएको छ। राजगढ गाउँपालिका २ की ४० वर्षीया सवितादेवी झाको प्रहरीलाई देख्दा डरले हृदयघात भएको खबर आजको कान्तिपुरमा छ ।

 

प्राधिकरण राजविराज र प्रहरीको संयुक्त टोली मंगलबार विहान विद्युत् चोरी नियन्त्रण गर्न राजगढ गएको थियो। बिहान ४ बजे नै घर पसेर प्रहरीले वादविवाद गर्न थालेपछि त्रसित भएर सविताको हृदयघात भएको उनको पति अनिल झाले बताए।

 

प्रहरीले हप्काउन थालेपछि बेहोस भएकी सविताको तत्कालै ज्यान गएको थियो। प्रहरीका कारण मृत्यु भएको भन्दै आफन्त र स्थानीयले क्षतिपुर्ती माग गर्दै शव उठाएका छैनन्। वडाध्यक्ष ललितनारायण सिंहले प्रहरी र प्राधिकरण टोली डकैतीको शैलीमा घरभित्र पसेपछि सविता डराउँदा हृदयघात भएको बताए ।

प्रतिक्रिया दिनुहोस्