लागुऔषधसहित एक जना पक्राउ



मकवानपुर : मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० स्थित बसपार्कबाट प्रहरीले दुई लाख मूल्य बराबरको प्रतिबन्धित लागुऔषध ट्रमासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरीका २९ वर्षीय दीपक सिंह मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज बिहान उनलाई पक्राउ गरेको हो । शङ्कास्पद अवस्थामा देखिएकाले सुरक्षा जाँच गर्दा मोक्तानको साथबाट प्रहरीले ५२ प्याकेटमा रहेका १५ हजार ६०० ट्याब्लेट प्रतिबन्धित लागुऔषध ट्रमा बरामद गरिएको जनाएको छ ।

आवश्यक कानुनी कारवाहीका लागि बरामद भएका लागुऔषधसहित मोक्तानलाई औषधि व्यवस्था विभाग वीरगञ्जमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले जानकारी दिए।

जबर्जस्ती करणीको आरोपमा एक जना पक्राउ

चौध वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–२ का २० वर्षीय दिपेश भन्ने अनिश प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता कुर्मीले बताए।

पक्राउ परेका प्रजालाई म्याद थप गरी अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको पनि उनले बताए। यसअघि प्रहरीले आठ वर्षीया बालिकालाई बलात्कृत गरेको अभियोगमा पनि उनलाई पक्राउ गरेको थियो । – रासस

प्रतिक्रिया दिनुहोस्