अर्थमन्त्रीमा नेताहरुको यस्तो छ भिडन्त



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डलको पुर्नगठनको तयारी गरेसँगै अर्थमन्त्रीका लागि नेकपाका एकसे एक नेताहरुको नाम चर्चामा छ । प्रधानमन्त्री ओलीले बहालवाला अर्थमन्त्री युवराज खतिवडालाई हटाउने संकेत गरेपछि आधा दर्जन नेताहरुको नाम अर्थमन्त्रीका लागि चर्चामा आएको छ ।

ओलीको पहिलो कार्यकालमा सफल अर्थमन्त्रीका रुपमा चर्चा पाएका पार्टी महासचिव विष्णु पौडेल पनि अर्थमन्त्रीका रुपमा फेरी चर्चामा आएका छन् ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्न र सीके राउतलाई वार्तामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका पौडेललाई प्रधानमन्त्री ओलीले रुचाउँदै आएका छन् । सफल परराष्ट्रमन्त्रीका रुपमा पहिचान बनाएका वर्तमान परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई पनि अर्थमन्त्री बनाउने विषयमा बालुवाटारमा छलफल चलिरहेको बताइन्छ ।

यसअघि मन्त्रीमण्डल गठनका बेला पौडेल र ज्ञवालीसँगै हाल रक्षामन्त्री रहेका ईश्वर पोखरेलको नाम अर्थमन्त्रीका रुपमा चर्चामा रहेपनि अन्तिम बखतमा खतिवडाले बाजी मारेका थिए । त्यसैगरी ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई मुख्यमन्त्रीबाट बिदा गरी अर्थमन्त्री बनाउन पनि प्रधानमन्त्री ओलीमाथि दवाव परेको छ ।

५ नम्बर प्रदेशका मुख्यमन्त्री रहेका पोखरेल प्रदेश राजधानीका कारण मुख्यमन्त्रीबाट बाहिरन खोजेका छन् । उनले अब रिक्त हुने राष्ट्रिय सभाको सदस्य बन्ने चाहना पनि व्यक्त गरेको बताइन्छ । प्रदेश सांसदबाट राजीनामा दिएर अर्थमन्त्री बन्ने चाहना राखेका पोखरेलका अगाडी दुई वटा विकल्प देखिन्छन् । संवैधानिक व्यवस्था अनुसार संघीय मन्त्री बनेको ६ महिना भित्र संघीय सांसद हुनु पर्ने व्यवस्था छ । त्यसका लागि एउटा विकल्प अब रिक्त हुने राष्ट्रिसभाको सदस्य बन्ने र दोस्रो यदि पूर्व सभामुख कृष्णबहादुर महरा दोषि ठहरिए भने उनको रिक्त स्थानमा दाङबाट चुनाव लडेर सांसद बन्ने देखिन्छ ।

नेकपाका वरिष्ठ नेता माधव नेपाल प्रधानमन्त्री भएका बेला अर्थमन्त्री बनेका सुरेन्द्र पाण्डेले पनि अर्थमन्त्री बन्न ईच्छा देखिएका छन् ।

त्यसबेला सफल अर्थमन्त्रीमा दहरिएका पाण्डेले पछिल्लो पटक प्रधानमन्त्री ओलीसँग सम्बन्ध सुधार गर्दै निकटको सम्बन्ध स्थापित गरेका छन् । नयाँ मन्त्रीको सूचिमा प्रधानमन्त्री ओलीले पाण्डेको नाम पनि राखेको बताइन्छ । पोर्टफोलियोको विषयमा छलफल चलिरहेपनि पाण्डेलाई त्यही हाईटको मन्त्रालय दिने सोचमा प्रधानमन्त्री ओली रहेको उच्च श्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्