सचिव ठाकुरले चार सहसचिवलाई जिम्मेवारीविहीन बनाए



काठमाडौं: खानेपानी सचिव गजेन्द्र ठाकुरले मन्त्रालयका चारजना वरिष्ठ सहसचिवलाई जिम्मेवारीविहीन बनाएका छन्। मन्त्रालयमा दोस्रो वरियताका सहसचिव राजन पाण्डेलाई चार महिनादेखि जिम्मेवारी दिइएको छैन। उनी हाजिर गरेर फर्कन्छन्।

 

सचिव ठाकुरले खानेपानी विभागका तीन वरिष्ठ सहसचिवलाई पनि जिम्मेवारीविहीन बनाएका छन्। अनियमितताको सेटिङ नगर्ने, सचिवका गैरकानुनी आदेश नमान्नेलाई सचिव ठाकुरले जिम्मेवारीविहिन बनाएका हुन्।

 

विभागको पुलमा राखिएका वरिष्ठ सहसचिवमा जनकराज अधिकारी, चन्द्रबहादुर केसी र अनिलभद्र खनाल छन्। दुई वर्षअघि सहसचिवमा बढुवा भएका अधिकारी सोही बेलादेखि नै जिम्मेवारीविहीन बनाएको खबर अन्नपूर्ण पोष्टमा छ।

 

तत्कालीन क्षेत्रीय कार्यालय सुर्खेतमा कार्यरत केसीलाई ठाकुरले मंसिर २४ को ब्याक डेट निर्णय गरी विभाग ताने। केसीलाई पुस ८ को मितिमा पत्र दिइएको छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन नभएसम्म सबैखाले सरुवा रोकेका कारण सचिव ठाकुरले ब्याक डेट राखी पत्र दिएका हुन्।

 

मन्त्रालयका अर्का सहसचिव खनाललाई महिना दिनअघि खानेपानी विभागको पुल दरबन्दीमा लगिएको छ। निजामती सेवा ऐनले बिना जिम्मेवारी कर्मचारी राख्न नपाइने व्यवस्था गरेको छ।

 

सचिव ठाकुरले सोमबार पनि नियम मिचेर प्रथम श्रेणीका सहसचिवको सरुवा गरे। सरुवा गर्दा उनले वरिष्ठ–कनिष्ठको वरियताक्रमलाई पूरै बेवास्ता गरेका छन्।

 

ठाकुरले १७ सहसचिवमध्ये सबैभन्दा कनिष्ठ सूर्यराज कँडेललाई मेलम्ची खानेपानी आयोजनाको प्रमुख बनाएका छन्। ठाकुर खानेपानी मन्त्रालयमा आएको एक साताभित्र कँडेललाई राष्ट्रिय गौरवको आयोजना प्रमुख बनाइएको हो। कँडेलकै कारण मेलम्ची आयोजनाको भविष्य अन्यौलमा परेको छ।

 

खानेपानी मन्त्रालयअन्तर्गत चारवटा निकाय महत्वपूर्ण मानिन्छ। यीमध्ये खानेपानी तथा ढल व्यवस्थापन विभाग पहिलो, मेलम्ची खानेपानी आयोजना दोस्रो, आयोजना कार्यान्वयन निर्देशन ९दोस्रो मेलम्ची० तेस्रो, साना शहरी खानापानी आयोजना चौथो महत्वपूर्ण निकाय हुन्।

 

त्यसपछि सहलगानी खानेपानी आयोजना र सुख्खा क्षेत्र खानेपानी आयोजना प्राथमिकतामा पर्छन्। यी निकायमा जिम्मेवारी दिँदा विगतमा वरिष्ठतालाई प्राथमिकता दिइन्थ्यो। खानेपानी विभागमा सुनीलकुमार दासलाई महानिर्देशक बनाइएको छ। विवादमा नआएका दासलाई खानेपानीमन्त्री बिना मगरले ठाकुरको इच्छाविपरीत जिम्मेवारी दिएकी हुन्।

 

सचिव ठाकुरले साना शहरी खानेपानी आयोजना प्रमुखमा भने वरिष्ठलाई पन्छाएर १६ औं नम्बरका विद्यानाथ भट्टराईलाई प्रमुख बनाए। पुस अन्तिम साता सेवा निवृत्त हुन लागेका रामचन्द्र साहलाई हटाएर भट्टराईलाई नियुक्त गरिएको हो। साह वरिष्ठताको छैटौं नम्बरमा छन्।

 

त्यसैगरी सरकारको ७० र स्थानीय समुदायको ३० प्रतिशत लगानीमा निर्माण तथा सञ्चालन हुने अर्को महत्वपूर्ण आयोजनाको प्रमुखमा पनि उपसचिव स्तरका कनिष्ठ प्रदीपकुमार मुडभरिलाई जिम्मेवारी दिइएको छ।

 

निजामती सेवा ऐनअनुसार राजपत्रांकित प्रथम श्रेणीका अधिकृत ९सहसचिव० को सरुवा विभागीय मन्त्रीले गर्ने प्रावधान छ। तर सचिव ठाकुरले आफूअनुकूलका व्यक्तिलाई मन्त्रीमार्फत सरुवा गराउन सफल भएका छन्।

 

यसैगरी सचिव ठाकुरले विभागीय प्रमुखको सिफारिस विपरीत आफूखुशी उपसचिवस्तरका सिनियर डिभिजनल इन्जिनियरको सरुवामा पनि व्यापक अनियमितता गर्न लागेका छन्। विभागले एक साताअघि पठाएको सरुवा सूची थन्काई जिम्मेवारी लिन इच्छुक कर्मचारीसित खुसामद गर्न लागेको स्रोतले दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्