सरकारलाई शिक्षक युनियनको २० सूत्रीय ध्यानाकर्षणपत्र



काठमाडौं : माध्यमिक विद्यालय शिक्षक युनियन नेपालले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रलालयलाई २० सूत्रीय ध्यानाकर्षणपत्र बुझाएको छ । 

ध्यानाकर्षणपत्रमा शिक्षकका छोराछोरीलाई उच्च शिक्षासम्म छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने, समायोजित साबिक उमावि तहमा कार्यरत शिक्षकलाई पनि गोल्डेन ह्यान्डसेकको व्यवस्था गर्नुपर्ने, मावि शिक्षालाई निःशुल्क गरिनुपर्ने, माध्यमिक तहलाई दुई तहमा विभाजन गरी सिनियर मावि र जुनिएर मावि बनाउनुपर्ने, शिक्षक विमाको अनिवार्य व्यवस्था गर्नुपर्ने, माध्यमिक तहको शिक्षालाई प्रदेश सरकार मातहत राख्नुपर्ने, संघीय, प्रादेशिक र सबै स्थानीय सरकारद्वारा निर्माण गरिने शिक्षासम्बन्धी ऐन, नियामावली, निर्देशिका र कार्यविधिमा एकरूपता हुनुपर्नेलगायत माग छन् ।

नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियन र माध्यमिक विद्यालय शिक्षक एसोसिएसन नेपालबीच एकीकरण भएर माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल गठन भएको हो । 

नवगठित युनियनका अध्यक्ष पुष्प न्यौपानेले युनियनले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई एकमहिने अल्टिमेटमसहितको ध्यानाकर्षणपत्र बुझाएको र एक महिनासम्म पनि माग सुनुवाइ नगरिए आन्दोलनमा जान बाध्य हुने बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्