उपनिर्वाचनपछि उपचारका लागि प्रधानमन्त्री अमेरिका जाने



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि अमेरिका जाने भएको छन् । प्रधानमन्त्री ओलीको मृगौला रोगसम्बन्धी थप उपचार अमेरिकामा हुने गरी आवश्यक तयारी भइरहेको बालुवाटार श्रोतले बताएको छ । यसका निम्ति प्रधानमन्त्री ओलीको निजी चिकित्सक डा.दिव्यासिंह शाह आवश्यक रिपोर्ट र कागजातसहित २४ गते आइतबार टर्किस एयरको दिउँसो २ः४० को उडानबाट अमेरिका पुगेर त्यहाँका चिकित्सकहरुसँग परामर्शमा थालेकी छन् । प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुर्नगठन र १४ मंसिरमा हुन गइरहेको उपनिर्वाचनपछि थप उपचारका लागि अमेरिका जाने तयारी गरेका हुन् ।

प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराई पनि नोभेम्बर १३ र १४ मा क्यापिटल हिलमा हुने एक कार्यक्रमका नाममा त्यतातिर लागे पनि उनीहरु दुबैको उद्देश्य प्रधामन्त्रीको स्वास्थ्यबारे परामर्श गर्नु नै भएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिलाई लिएर विभिन्न खालको अड्कलबाजी गरिरहँदा उनको अब अमेरिकामै उपचार हुने भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि ग्राण्डी अस्पताल पुगेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे विभिन्न टिकाटिप्पणी भएको र अस्पतालले सन्तोषजनक उपचार नगरेपछि ओली निकट नेताहरुले विदेशमै गएर एकपटक ‘होल वडी चेकअप’ गराउन सुझाउदै आएका थिए ।

ग्राण्डी अस्पतालले मृगौला फेल नै भएको जसरी सार्वजनिक गरेपछि नेताहरु रुष्ट बनेका थिए । ओलीलाई नियमित रुपमा डाइलाइसीस गर्नुपर्ने वा मृगौला नै फेर्नुपर्ने समाचार बाहिर आएपछि नेताहरु चिन्तित बनेका थिए । तर, पछिल्ला दिनहरुमा प्रधानमन्त्री ओलीलाई ग्राण्डी अस्पतालले भनेजस्तै नियमित डाइलाइसीस गर्नु परेको छैन ।

मृगौला प्रत्यारोपणका अनेक विधि रहेका छन् । अहिले भएकै मृगौलालाई नचलाई छेउमा अर्को मृगौला राख्न सकिने उपायबारे पनि ओलीका नीजि चिकित्सक डा. शाहले अमेरिकामा सल्लाह गरिरहेको बताइन्छ ।

सिंगापुरमा मृगौला प्रत्यारोपणसम्बन्धी कानुनी जटिलता रहेको कारण त्यताको विकल्प सकिएसँगै प्रधानमन्त्री ओलीको उपचार अमेरिका नै सर्वोत्कृष्ट विकल्प हुने ठानिएको हो । सोही अनुसार उनी उपचारका लागि प्रधानमन्त्री ओली अमेरिका जान लागेका हुन् ।

गत अगष्ट ३१ तारिखमा नेपाल आएका भारतीय विदेशमन्त्री एस. जयशंकरले ‘हजुरको उपचार पहिला भारतमा भएको, स्वास्थ्यसम्बन्धी विवरण पनि उतै भएको कारण सबै व्यवस्था मिलाउछौ’ भनी आफ्ना प्रधानमन्त्रीको सन्देश सुनाएका थिए । यस्तै गरी अघिल्लो महिना नेपाल आएका राष्ट्रपति सि जिनफिङले पनि यसबारे चासो राख्दै चीनमै उपचारका निम्ति स्वागत गर्न तयार रहेको बताएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्