‘यो गाउँमा मान्छेलाई झगडा गर्ने फुर्सद छैन’



भद्रपुर : झगडा लिएर पुलिससम्म, वडा कार्यालयमा जानुहुन्छ? झगडाबारे प्रश्नमा उल्टै प्रतिप्रश्न गर्दै सीमा गणेशले भनिन्, ‘त्यस्तो हुँदैन हाम्रो गाउँमा। कोही रक्सी कतै खाएर आई घरमा अलि बढी हो हल्ला गर्‍यो भने महिलाले सोझै प्रहरीकहाँ लगिदिन्छु भनेपछि आफैं चुप लाग्छन्।’

०३४ सालमा झापाको हल्दीबारीबाट मेचीनदी पारि जमिनदारहरूले ल्याएर राखिदिए। त्यतिबेला ४०–५० झुप्रा मात्र थिए। अहिले थपिएर एक सय ३५ घर पुगेका छन्। ‘त्यो बेलादेखि आजसम्म गाउँका मान्छे झगडा गरेर छलफलमा बस्नुपरेको छैन’, स्थानीय अगुवा विजय महतोले सुनाए।

महतोका अनुसार १५ वर्ष अघिसम्म भारतीय एसएसबीको बिट नेपाल–भारत सिमानामा नबसुन्जेल यो ठाउँमा भारतीयहरूले दिनरात आउने गाईबस्तु फुकाएर लैजाने गर्थे। सामान चोरी हुन्थ्यो। छोरीबुहारी जोगाउन पनि कठिन थियो गाउँलेलाई।

मेची नदी पारीको यो गाउँ हिजोआज शान्ति क्षेत्रकै रूपमा चिनिएको छ। स्थानीय पुष्पा राजवंशीका अनुसार घर–घरमा सासु–बुहारी, जेठानी–देवरानीका सामान्य विवाद भए पनि घरबाट निस्केको कुरा आँगनको बेराभन्दा बाहिर जाने गरेको छैन।

‘यहाँका मान्छे साँध–सिमानाका विषय लिएर आउँदैनन्, किनभने सबै ऐलानी जग्गा भएकोले बाँचुन्जेल गरिखाने र ठाउँ नछोडुन्जेल मेरो भन्न पाइने थियो’, भद्रपुर ३ का जनप्रतिनिधि अरुण राजवंशी भन्छन्, ‘अहिले यही गाउँभित्रै किनबेच त गर्छन् धनीपुर्जा पनि छ तर कर तिर्ने गरेका छैनन्। त्यसैले जसले जति सक्छ त्यति जग्गा पायो त्यति नै गर्दै छन्।’

अरुणका अनुसार यहाँका अधिकांश बासिन्दा सरकारी कार्यालयमा गएर कुनै काम कसरी गर्ने, कहाँ गएर के राहत पाउने? कहाँ गएर जागिर पाइन्छ? विदेश जान लागेको के के कागज चाहिन्छ लगायत कुरा लिएर जनप्रतिनिधिसमक्ष आउने गर्छन्।

गाउँमा एउटा प्रहरी बिट छ। असई लीलाबहादुर खड्काको नेतृत्वमा ६ जनाको टोलीले सिंगो मेचीपारि गाउँमा सुरक्षा दिने गर्छ। ‘यो ठाउँमा आएको ६ महिना भयो। अहिलेसम्म कोही झगडाको केस लिएर आएका छैनन्,’ खड्का भन्छन्, ‘यो गाउँमा मान्छेलाई झगडा गर्ने फुर्सद नै छैन।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्