चिसोले तराई–मधेस अस्तव्यस्त



वीरगन्ज: पुस शुरू भएसँगै मध्य तराई र मधेसमा शीतलहरका कारण जनजीवन कष्टकर बनेको छ। साँझ–बिहान चिसो बढेसँगै ३ दिनदेखि दिउँसो पनि घाम नदेखिँदा जनजीवन कष्टकर हुँदै गएको छ ।

 

हुनेखानेले जतन गरेर राखेको बाक्लो लुगा पहिरिन थालेका छन्। तर, आर्थिक स्थिति कमजोर हुने तराईका मुसहर र डोमजस्ता समुदायका लागि शीतलहर काल बनेर आउने गरेको छ । मध्य तराईको पर्सासहित बारा, रौतहटलगायतका तराईका जिल्लामा शीतलहरको प्रभाव बढ्दै गएको छ । चिसोका कारण दैनिक काम गरी खाने मजदुर बिहान–बेलुका बाहिर निस्कन सकेका छैनन् ।

 

प्रदेश–२ को प्रमुख शहर वीरगन्ज महानगरमा चिसोले जनजीवन कष्टकर बनेको छ । ‘रिक्सा लिएर बजार ननिस्किए चुलो नबल्ने चिन्ता, निस्किए कठ्याङ्ग्रिँदो चिसोले ज्यानै जाने डर।’ –वीरगन्ज–१ का ठेला चलाउने रामदयाल सदाले बताए । ठेला चलाएर थोरै आम्दानी हुने भएकाले छोराछोरीका लागि बाक्लो लुगा किन्न नसकेको सदाले बताए ।

 

सदाको जस्तै पीडा अन्य विपन्न समुदायका मजदुरको पनि रहेको छ । दैनिक मजदुरी गरी जीविकोपार्जन गर्ने मजदुर, किसान र रिक्साचालक जाडोबाट बढी प्रभावित भएका छन् ।

 

जाडो र शीतलहरका कारण बालबालिकामा निमोनियाको प्रकोप देखिन थालेको छ। दमका रोगीको संख्या पनि बढेको चिकित्सकहरूले बताएका छन् । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा बिरामीको चाप बढेको छ । यसैबीच शीतलहरका कारण काठमाडौं–सिमरा हवाई सेवा पनि अवरुद्ध भएको छ। पुस लागेपछि नै हवाई सेवा अवरुद्ध हुँदा यात्रु मारमा परेका छन् ।

 

तराई–मधेसमा वर्षेनि शीतलहरका कारण स्थानीयले ज्यान गुमाउने गरेका छन् । शीतलहरबाट जोगाउन वीरगन्ज महानगरपालिकाले चोक–चोकमा आगो ताप्ने व्यवस्था गर्ने नगर प्रमुख विजय सरावगीले बताए ।  

प्रतिक्रिया दिनुहोस्