प्रचण्ड र बंगलादेशका राष्ट्रपतिबीच भेटवार्ता



काठमाडौं : नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद अहिले राजनीतिक भेटवार्तामा व्यस्त रहेका छन् ।

राष्ट्रपति हमिदले आज (बुधबार) बिहान नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डसँग भेट गरेका छन् । अध्यक्ष प्रचण्डले राष्ट्रपति हमिद बसेको होटल म्यारियटमा भेट गरेका हुन् । प्रचण्डभन्दा अगाडि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पनि हमिदसँग भेट गरेका थिए ।

अध्यक्ष प्रचण्ड र राष्ट्रपति हमिदबीच दुई पक्षीय हितका विषयमा कुराकानी भएको जनाइएको छ ।

प्रचण्ड नेपाली प्रतिनिधि मण्डलका तर्फबाट भौतिक तथा यातायात मन्त्री रघुवीर महासेठ, नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालसहित होटेल मेरियट पुगेका थिए ।

यस्तै अहिले २ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति हमिदलाई भेट्ने कार्यक्रम छ भने २ः४०मा प्रधानमन्त्री केपी शर्मा ओलीले र सवा ३ बजे उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले राष्ट्रपति हमिदसँग भेटवार्ता गर्ने समय निर्धारण गरिएको छ ।

राष्ट्रपति भण्डारीलाई भेट्न बंगलादेशी राष्ट्रपति हमिद दिउँसो ४ बजे शितलनिवास जाने कार्यतालिका छ । भेटमा आपसी हितका विषयमा छलफल हुने राष्ट्रपति कार्यालयले जनाएको छ । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गर्ने रात्रिभोजमा सहभागि हुने कार्यक्रम छ । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति हमिद ५२ सदस्यीय टोलीको नेतृत्व गर्दै हिजो नेपालको चारदिने राजकीय भ्रमणमा नेपाल आएका हुन् । राष्ट्रपति हमिदसँग पत्नी रसिदा हमिद पनि सहभागी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्