संविधान संशोधन: ओलीले राजपासँग मागे एक साता



काठमाडौं : संविधान संशोधनको अडानमा अडिग रहेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) का नेतासँग प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक छलफलका लागि एक साताको समय मागेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार प्रधानमन्त्री ओली र राजपा नेपाल अध्यक्षमण्डलका नेताबीचमा छलफल भएको छ ।

 

मंगलबार राजपा नेपाल अध्यक्षमण्डलको बैठक बस्ने र सो बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने सूचना पाएलगत्तै प्रधानमन्त्री ओलीले राजपा नेतालाई छलफलमा बोलाएका हुन् । प्रधानमन्त्री ओलीसँगको छलफलमा राजपा नेपाल अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतो, सदस्यहरू महन्थ ठाकुर, महेन्द्रराय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिल झा सहभागी थिए ।

 

छलफलमा सहभागी राजपा नेपाल अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले संविधान संशोधनको विषयमा आन्तरिक छलफलका लागि प्रधानमन्त्रीले एक साताको समय माग गरेको बताए । ‘संविधान संशोधनको सर्तसहित हामीले सरकारलाई समर्थन ग¥यौं, प्रधानमन्त्रीज्यूले आन्तरिक छलफलका लागि एक साताको समय माग्नुभएको छ,’ यादवले भने, ‘माग पूरा भयो भने ठिकै छ, होइन भने उहाँहरू आफ्नो बाटोमा हामी आफ्नो बाटोमा लाग्नेछौं ।’

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई राजपा नेपालले संविधान संशोधनको सर्तसहित समर्थन गरेको थियो । संशोधनको सर्तसहित सरकारलाई समर्थन गरेको राजपा नेपालले माग सम्बोधन गर्न प्रधानमन्त्री ओलीले चासो नदिएको आरोप लगाउँदै आएको छ । सरकार गठन भएको १० महिना बितिसक्दासमेत प्रधानमन्त्री ओलीले राजपा नेपालको माग सम्बोधनमा चासो नदिएकोमा समर्थन फिर्ता लिएर आन्दोलनमा जानुपर्ने आवाज पार्टीभित्र नेताहरूले उठाउँदै आएका छन् ।

 

राजपा नेपालका महासचिव केशव झाले प्रधानमन्त्री र राजपा नेपाल अध्यक्षमण्डलका नेताबीचमा सकारात्मक छलफल भएको बताए । लामो समयपछि भएको छलफलमा प्रधानमन्त्री ओली संशोधनको मुद्दामा सकारात्मक रहेको उनले बताए । ‘प्रधानमन्त्री र राजपा नेताबीच सकारात्मक छलफल भएको छ,’ झाले भने, ‘लामो समयपछि भएको छलफलमा उहाँ संशोधनको मुद्दामा सकारात्मक हुनुहुन्छ, एक सातापछि पुनः अर्को छलफल गरेर टुंगो लगाउने सहमति भएको छ ।’

 

राजपा नेपालले संविधान संशोधनसहित आफूहरूको माग सम्बोधन नभए दसैं, दीपावली तथा छठ पर्वपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने चेतावनीसहित २२ असोजमा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको थियो । संविधान संशोधन, कैलाली–१ बाट निर्वाचित सांसद रेशम चौधरीको रिहाइ एवं शपथ, मधेस आन्दोलनका क्रममा लगाइएका झुठा मुद्दा फिर्तालगायतका माग गर्दै राजपा नेपालले संघर्ष गर्दै आएको छ ।

 

चाँडै माग पूरा गर्न प्रतिबद्ध छु प्रधानमन्त्री ओली

आवश्यकता, औचित्य एवं जनताको चाहनाअनुसार संविधान संशोधन गर्ने अडानमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजपा नेपालले उठाएका माग चाँडै नै पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बालुवाटारमा राजपा नेपालका नेतासँग छलफल गर्दै प्रधानमन्त्री ओलीले राजपा नेपालले उठाएको मागप्रति सकारात्मक रहेको बताउँदै चाँडै नै पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘तपार्इंहरू नआतिनुस्, तपाईंहरूले उठाएको मागप्रति म सकारात्मक छु, मलाई छलफलका लागि एक साता समय दिनुस्,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने, ‘छिट्टै माग सम्बोधन गर्न म प्रतिबद्ध छु, समर्थन फिर्ता हुने अवस्था आउँन दिन्नँ, तपाईंहरूले चिन्ता लिनुपर्दैन ।’

 

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यसअघि सार्वजनिक कार्यक्रममा आवश्यकता, औचित्य एवं जनताको चाहनाअनुसार संविधान संशोधन गर्ने बताउँदै आएका छन् । संविधान संशोधनको माग गर्दै संघर्षमा रहेको राजपा नेपालको माग सम्बोधन छिट्टै गर्ने प्रतिबद्धता व्यक्त गरेका प्रधानमन्त्री ओलीले मधेसको समस्या समाधान गर्न सहकार्य गरेर अघि बढ्न आग्रहसमेत गरेका छन् ।

 

प्रधानमन्त्री ओलीले मधेसका समस्या समाधान गर्न आफू सकारात्मक रहेको बताउँदै जनताले राजपा नेपाललाई समेत राष्ट्रिय दलको मान्यता दिएकाले सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकत्ता रहेको बताए । नेकपा, कांग्रेस, राजपा र फोरम नेपाललाई जनताले राष्ट्रिय पार्टीको मान्यता दिएकाले देश निर्माणका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताए ।

 

‘जनताले हामीलाई देश विकासको जिम्मा दिएका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले सानातिना कुरामा नअल्झी देश निर्माणमा लाग्नुपर्छ, मधेसको सामाजिक विकास, समृद्धि र त्यहाँका सबै प्रकारका समस्या समाधान गर्न म सकारात्मक छु ।’ संविधान निर्माण र तीनै तहको निर्वाचनपछि कतिपय राजनीतिक दलले विगतमा उठाएका विषयको म्याद सकिएको बताउँदै उनले अब हिजोकै विषयमा बादविवाद गरी नयाँ ढंगले अघि बढ्नुपर्ने बताए ।

 

बैठक नबस्दै स्थगित

आन्तरिक विवादका कारण राजपा नेपाल अध्यक्षमण्डलको बैठक नबस्दै स्थगित भएको छ । मंगलबार बस्ने भनिएको बैठक बुधबार बस्नेछ । राजपा नेपाल अध्यक्षमण्डलको संयोजकमा राजेन्द्र महतोलाई चयन गरेदेखि नै पूर्व संयोजक एवं सदस्य महन्थ ठाकुर पक्षले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । ठाकुरले अस्वस्थ भएकाले बैठकमा आउन नसकिने जानकारी गराएपछि बैठक स्थगित भएको राजधानीमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्