दूरसञ्चार कम्पनीहरूको अटेरी- तिरेनन् ३ अर्ब



काठमाडौं : सांसददेखि प्रतिष्ठित व्यवसायीका नाममा रहेका दूरसञ्चार कम्पनीहरूले सरकारलाई ३ अर्बभन्दा बढी राजस्व तिरेका छैनन् । युनाइटेड टेलिकम लिमिटेड (यूटीएल), स्मार्ट टेलिकम, सीजी कम्युनिकेसन्सलगायतका कम्पनीले ३ अर्ब १३ करोड ८ लाख ४१ हजार रुपैयाँ बक्यौता नतिरेका हुन् । 

दूरसञ्चार प्राधिकरणका अनुसार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठकी पत्नी तथा नेकपा सांसद जुलीकुमारी महतोको लगानी रहेको यूटीएलले ७७ करोड ७९ लाख ७५ हजार ३ सय १२ रुपैयाँ बक्यौता बुझाएको छैन ।

सबैभन्दा बढी बक्यौता स्मार्ट टेलिकम प्रालिको छ । उसले हालसम्मको १ अर्ब ३७ करोड ५० लाख रुपैयाँ बुझाएको छैन । त्यस्तै नेपाल स्याटेलाइट टेलिकमले ७१ करोड ५० लाख ३२ हजार ५ सय २, सीजी कम्युनिकेसन्स प्रालिले २३ करोड ४३ लाख ३७ हजार ५ सय १०, वेबसर्फर नेपाल कम्युनिकेसन सिस्टम प्रालिले २ करोड ३५ लाख २७ हजार ५ सय ३६, ब्रोडलिंक कम्युनिकेसन्सले २५ लाख २६ हजार २ सय ६८ र अन्य दूरसञ्चार सेवा प्रदायकले २२ लाख ७३ हजार ५ सय १७ रुपैयाँ बक्यौता नबुझाएको प्राधिकरणले जनाएको छ ।

सबैभन्दा बढी बक्यौता नतिर्ने स्मार्ट टेलिकम प्रालिमा स्क्वायर नेटवर्क प्रालिको २० प्रतिशत लगानी छ । यसको स्वामित्व सर्वेश जोशीको नाममा छ । सेसल्स टापुमा रहेको कोस्बो इन्भेस्टमेन्ट लिमिटेडको३० प्रतिशत र बाँकी ५० प्रतिशत स्वामित्व सेसल्सकै लाल साहु होल्डिङ्सकोनाममा छ ।

यूटीएलमा सांसद महतोको २० प्रतिशत लगानी छ । सांसदकै कम्पनीले सरकारलाई राजस्व नबुझाउनु दुःखद भएको पूर्वकार्यवाहक महालेखापरीक्षक सुकदेव खत्रीले बताए । ‘सांसद त आफैं उत्तरदायी हुनुपर्ने हो,’ उनले भने, ‘जनतालाई संसद्मार्फत कर लगाउने व्यक्तिकै कम्पनीले राज्यलाई राजस्व नबुझाउनु ठूलो नैतिक प्रश्न हो ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्