स्कुलको दबाबमा क्रिसमस मनाउन बाध्य



काठमाडौं : पाँच वर्षीया कञ्चन रिमाल मंगलबार बिहान उठ्नासाथ ‘मेरी क्रिसमस’ भन्दै आमाबुवासँग फुर्किन थालिन् । उनी मैतीदेवीस्थित एक निजी स्कुलमा अध्ययनरत छिन् । 

स्कुलले क्रिसमस मनाउने भनेकाले आवश्यक सामग्री किनिदिन उनले आमाबुवालाई अनुरोध गरिन् । क्रिसमस ह्याट र साथीसँग खुसी साटासाट गर्न केही उपहार सामग्री किन्नुपर्ने उनको माग थियो ।

ह्याट र गिफ्ट नलगी शुभकामना मात्र आदानप्रदान गर्न सुझाउँदा उनी रुन थालिन् । जसरी पनि यी सामग्री किन्नै पर्ने अडान उनले राखिन् । छोरीलाई सम्झाउन नसकेपछि ह्याट र चक्लेट किनेर स्कुल पठाएको शिवहरि रिमालले बताए ।

‘क्रिसमस मनाउनु त ठीकै हो । तर, दसैंभन्दा धेरै प्राथमिकता दिएर विद्यार्थीलाई अनिवार्य गर्नु राम्रो होइन’, उनले भने, ‘यस्ता क्रियाकलापले एकातिर धर्म प्रचारमा बल पु¥याउँछ भने अर्कोतिर बालबालिकालाई मानसिक प्रभाव पार्न सक्छ । यसतर्फ स्कुल सञ्चालक सचेत हुनुपर्छ ।’

कञ्चन र उनका बुवाजस्ता थुप्रै विद्यार्थी र अभिभावक यो पर्वबारे जानकार नै नभए पनि बाध्यतामा परेर मनाउन बाध्य छन् । क्रिसमसअंकित ह्याटसहितका सामग्रीमै विद्यार्थीले ५ सयदेखि १ हजार रुपैयाँसम्म खर्चिए । 

स्कुल सञ्चालकले उनीहरूलाई बाध्यतामा पारे । अभिभावकले स्कुलको मनपरीको खुलेर विरोध गर्न सकेका छैनन् । स्कुलकै कारण आफूमाथि परेको आर्थिक भार र क्रिस्चियन धर्मको प्रचारमा नानीबाबुलाई प्रयोग गरेकोमा उनीहरू चिन्तित छन् ।

साना नानीबाबु पढ्ने शैक्षिक संस्थाले यो पर्वलाई तामझामका साथ मनाउने गरेका छन् । कतिपय स्कुलले क्रिसमस मनाउनकै लागि मंगलबार पढाइ बन्द गरेका छन् । अधिकांशले सोमबारै यो पर्व मनाए । 

कुलेश्वरस्थित साउदर्न प्याराडाइज स्कुल पनि क्रिसमसकै कारण मंगलबार बन्द रह्यो । ‘सोमबारै गिफ्ट आदानप्रदान गरेर क्रिसमस मनायौं’, एक छात्राले भनिन्, ‘मंगलबार स्कुल बन्द छ। दिनभरको समय कसरी कटाउने भन्ने चिन्तामा छु ।’ 

क्रिसमसबारे रुचि र जानकारी नभए पनि स्कुलले यही पर्वको नाममा पढाइ बन्द गरेकोमा नमज्जा लागेको उनले सुनाइन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्