फोन र डाटामा मासिक २४१ रुपैयाँ खर्च गर्छन् नेपाली



काठमाडौं: एक नेपालीले मोबाइल तथा टेलिफोनमा औसतमा मासिक २ सय ४१ रुपैयाँ खर्च गर्ने तथ्यांक सार्वजनिक भएको छ । गत आर्थिक वर्ष ०७४/७५ मा मोबाइल तथा टेलिफोनमा कुराकानी गर्न र इन्टरनेट चलाउन गरेको कुल खर्च नेपालको कुल जनसंख्याका आधारमा औसत खर्च निकालिएको हो ।

 

औसतमा टेलिफोनमा कुराकानी गर्न मात्रै एक नेपालीले मासिक १ सय ७७ रुपैयाँ खर्च गर्ने गरेको पाइएको छ । नेपाल टेलिकम र एनसेलले दूरसञ्चार प्राधिकरणमा बुझाएको प्रतिवेदनअनुसार गत आवमा मोबाइल तथा टेलिफोन सेवामा कुल ७६ अर्ब ६३ करोड ८ लाख रुपैयाँ खर्च भएको छ । नेपालीले टेलिफोन र डाटामा गरेको खर्चमा दूरसञ्चार कम्पनीहरूले अन्तर्राष्ट्रिय कलमार्फत प्राप्त गरेको आम्दानी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरू (आइएसपी)को आम्दानी समावेश गरिएको छैन ।

 

टेलिकमको सेवा सस्तो

निजी दूरसञ्चार कम्पनी एनसेलले प्रतिप्रयोगकर्ताबाट मोबाइलमा कुराकानी गर्दा १ सय ४६ रुपैयाँ, एसएमएस, एमएमएस, रिङब्याकटोनलगायतका भिएएसमा १७ रुपैयाँ र इन्टरनेबाट १ सय ४७ रुपैयाँ आम्दानी गर्दै आएको छ । तर, टेलिकममा भने प्रतिप्रयोगकर्ता औसत मासिक कुराकानीबाट ८७ रुपैयाँ २७ पैसा, एसएमएस, एमएमएस तथा रिङब्याकटोनलगायतका भिएएसमा ६ रुपैयाँ २० पैसा र मोबाइल इन्टरनेटमा ५६ रुपैयाँ ९२ पैसा आम्दानी गर्दै आएको छ ।

 

गत आर्थिक वर्षको मध्यावधिको प्रयोगकर्ताको तथ्यांकका आधारमा प्रतिप्रयोगकर्ता आम्दानी निकालिएको हो । प्राधिकरणका अनुसार गत आर्थिक वर्षको मध्यावधिसम्म एनसेल र नेपाल टेलिकमका मात्रै ३ करोड ६० लाख ९६ हजार ३ सय ९६ सिमकार्ड बिक्री भएका थिए ।

 

 एनसेलको आम्दानी बढ्यो, टेलिकमको घट्यो

आर्थिक वर्ष ०७३/७४ को तुलनामा निजी मोबाइल कम्पनी एनसेलले थप २ अर्ब २३ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ । तर, सरकारी स्वामित्वको नेपाल टेलिकमले भने अघिल्लो वर्षको तुलनामा १ अर्ब ३२ करोड ५५ लाख रुपैयाँ आम्दानी गुमाएको छ । टेलिकमले दूरसञ्चार सेवामार्फत आम्दानी गर्ने २३ शीर्षकमध्ये १६ शीर्षकमा आम्दानी घटेको छ ।

 

टेलिकमको भ्वाइसतर्फ पिएसटिएन सेवाको आम्दानी ९ करोड ६८ लाख रुपैयाँ, सिडिएमएमा २३ करोड ६९ लाख रुपैयाँ र जिएसएममा ५ करोड ५० लाख रुपैयाँ आम्दानी घटेको छ । त्यस्तै, डाटातर्फ एडिएसएलमा मात्रै ३४ करोड ४० लाख रुपैयाँ आम्दानी गुमाएको टेलिकमले वाइम्याक्समा करिब २ करोड आम्दानी घटेको छ ।

 

आम्दानीको मुख्य स्रोतका रूपमा रहेको अन्तर्राष्ट्रिय कलतर्फको आम्दानी ९८ करोड ७१ लाख गुमेको छ । सोही शीर्षकमा २ अर्ब १२ करोड ८२ लाख रुपैयाँ आम्दानी गुम्नुका बाबजुद एनसेलले भने अन्य शीर्षकमा राम्रो सुधार गर्दै कुल आम्दानी उच्च रूपमा वृद्धि गरेको हो । एनसेलले मोबाइल फोनमा १ अर्ब २३ करोड ५९ लाख रुपैयाँ तथा मोबाइल डाटामा २ अर्ब ६२ करोड ३१ लाख रुपैयाँ आम्दानी वृद्धि गरेको छ ।

 

मोबाइल खर्च मात्रै ७२ अर्ब

नेपालीको वार्षिक मोबाइल खर्च ८२ अर्ब पुगेको छ । आर्थिक वर्ष ०७३/७४ मा ६७ अर्ब ८ करोड रहेको नेपालीको मोबाइल खर्च गत आवमा ७१ अर्ब रुपैयाँ पुगेको थियो । समीक्षा अवधिमा नेपालीहरूले ४७ अर्ब ५६ करोड ४३ लाख रुपैयाँ मोबाइलमा कुराकानी गर्न, १८ अर्ब ६५ करोड ६४ लाख रुपैयाँ मोबाइल इन्टरनेटमा र ४ अर्ब ७७ करोड २५ लाख रुपैयाँ एसएमएस, एमएमएस, रिङब्याकटोनलगायतका भ्याल्युएडेड सर्भिस (भिएएस)मा खर्च गरेका छन् ।

 

उपभोक्ताले नेपाल टेलिकमबाट कुराकानी गर्दा १८ अर्ब ७८ करोड ६८ लाख रुपैयाँ खर्चिँदा एनसेलबाट २८ अर्ब ७७ करोड ७५ लाख रुपैयाँबराबरको कुराकानी गरेका छन् । त्यस्तै, टेलिकमको मोबाइल इन्टरनेटमा ६ अर्ब ५ करोड ९८ लाख रुपैयाँ खर्चिएका छन् भने एनसेलको डाटामा १२ अर्ब ५९ लाख ६५ हजार रुपैयाँ खर्च गरेका छन् । एसएमएस, एमएमएस, रिङब्याकटोनलगायतका भिएएसमा टेलिकमका ग्राहकले १ अर्ब ३३ करोड ५२ लाख र एनसेलका ग्राहकले ३ अर्ब ४३ करोड ७२ लाख रुपैयाँ खर्च गरेका नयाँपत्रिकामा खवर छ ।

प्रतिक्रिया दिनुहोस्