उपराष्ट्रपति पुनलाई दश वटा गाडी, गाडी किन्दा भ्रष्टाचार!



काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन(पासाङ) चढ्ने अहिले १० वटा गाडी प्रयोग गरिरहेका छन् । उनले चढ्ने गरेको गाडी किन्दा चरम भ्रष्टाचार भएको समाचार बाहिर आएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनकै प्रयोजनका लागि १० वटा गाडी प्रयोग भइरहेको पाइएको छ । त्यसमध्ये ५ गाडी उपराष्ट्रपति पुनले नै प्रयोग गर्छन् भने ५ वटा गाडी अगुवा–पछुवाका लागि प्रयोग भइरहेका छन् ।

उपराष्ट्रपति पुनको सवारीमा प्रयोग हुने बा१झ ८८३२ नम्बरको ल्यान्डक्रुजर २०६६ जेठ १४ गते ८९ लाख ९१ हजार रुपैयाँमा खरिद गरिएको देखिन्छ । तर अचम्म त के भने सोही मूल्यमा फरक–फरक ब्राण्डका २ गाडी त्यसको ५ वर्षपछि खरिद गरिएको छ । उपराष्ट्रपतिकै सवारीमा प्रयोग हुने बा१झ ८८८० नम्बरको कियाकार र बा२झ १८५९ नम्बरको ड्यामलर कार २०७१ चैत २३ गते ८९ लाख ९१ हजारमा नै खरिद गरेको देखिन्छ ।

यसरी फरक ब्राण्ड र फरक मितिमा किनिएको गाडीको मूल्य फरक पर्नुपर्ने हो तर त्यसो भएको छैन । यो घटनाले पनि उपराष्ट्रपति पुनको लागि गाडी किन्दा भ्रष्टाचार भएको सहजै अनुमान गर्न सकन्छि । यस विषयमा उपराष्ट्रपति कार्यालका सूचना अधिकारीलाई सम्पर्क गर्दा बिलमा जति रकम लेखिएको हो त्यति नै उल्लेख गरेको बताए ।

उपराष्ट्रपति पुनको लागि टोयटा ल्यान्डक्रुजर प्राडो, कियाकार र ड्यामलर कार प्रयोग हुने गरेको छ भने फर्चुनर जीप र कियाकार निवासमा प्रयोग हुन्छ । उपराष्ट्रपतिको अगुवा–पछुवाका लागि तीनवटा कियाकार र दुईवटा स्कोर्पियो जीप प्रयोग हुँदै आएको छ ।

पूर्व उपराष्ट्रपति परमानन्द झाले बा१झ ९९०१ नम्बरको स्कोर्पियो जीप प्रयोग गर्ने गरेका छन् भने बा२झ १८८० नम्बरको क्रेटा जीप सचिवका लागि उपराष्ट्रपति कार्यालयले उपलब्ध गराएको छ । उपराष्ट्रपतिको सवारीमा प्रयोग भएकामध्ये प्राडो र किया प्रधानमन्त्री कार्यालय तथा ड्यामलर कार नारायणहिटीबाट उपलब्ध गराइएको देखिएको छ ।

उपराष्ट्रपतिका प्रमुख स्वकीय सचिवका लागि बा२झ १८८१ नम्बरको क्रेटा जीप, सहसचिवका बा२झ १८८३ नम्बरको कार, उपसचिव भूमिश्वर पोख्रेलले बा१झ ८५१५ नम्बरको आई टेन तथा अर्का उपसचिव का लागि बा१झ ८५१६ नम्बरको सेन्ट्रो कार दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्