आगलागीपीडितलाई घरको आश्‍वासन



कालिकोट : कालिकोट जिल्लाको पलाँता गाँउपालिका–१ खाँडागाउँका दीप न्यौपानेको घर गाउँको माझमा थियो। राति उनको खरले छाएको दुई तले खर जल्यो। उनले सिरानी हालेको कोट समेत जल्यो। मुस्किलले ज्यान जोगाएर बाहिर निस्किन सफल भए।

गोठका गाईवस्तु पोलिए। घरमा रहेको अनाज, हुण्डा, ताउला लगायतका भाँडाकुँडा सबै नष्ट भए। पुर्खाको चिनोसमेत रहेन। उनी अहिले छिमेकीको गोठमा बस्न थालेका छन्। ‘घरमा भएको सारा सम्पत्ति पोलियो। १० जनाको परिवार छौँ। बिहानबेलुका खाने केही छैन,’ उनले भने, ‘ज्यान जोगाउनै मुस्किल भयो। छिमेकीले दिएको कपडा लगाए बसेका छौँ।’

गाउँका अरु ८७ परिवारको हालत पनि उही छ। उनी गाँस र बासविहीन भएका छन्। बेलुका लाखौँको सम्पत्ति भएकाहरु पनि बिहान खालीहात भए। ‘राति दुई बजेको थियो होला। कसरी ब्युँझिएँ थाहा भएन। बाहिर निस्किँदा घरमा आगो लागिसकेको थियो,’ अर्का पीडित कुसराज न्यौपाने भन्छन्, ‘आमा बुवालाई बोलाएँ र दौडिएँ। कट्टु मात्र लगाएर सुतेको थिएँ, त्यत्तिकै भागेँ।’

पहिलो चरणको राहत बाँडियो

मंगलबार खाडाका आगलागी पीडितलाई पहिलो चरणको राहत वितरण गरिएको छ। पलाँता गाँउपालिका अध्यक्ष लक्ष्मणबहादुर बम र उपाध्यक्ष दानादेवी न्यौपानले जिल्ला प्रशासन, नेपाल प्रहरी, नेपाली सेना लगायतकाको रोहवरमा सामग्री बाँडे।

हरेक परिवारलाई २ पोका चामल, १ पाल, १ सेट भाँडाकुँडा, २ सिरक, २ डसना, एक कोरियन कम्मल, २ साना कम्मल, हरेकलाई ज्याकेट, सुरुवाल, चप्पललगायतका सामग्री हस्तान्तरण गरियो।

गृहमन्त्रालय, प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ, च्याम्बर अफ कमर्स लगायतका निकायले राहत सामग्री संकलन गरेका थिए। ती सामग्री सेनाको हेलिकप्टरले खाँडा पुर्‍याएको थियो। खाँडा पुगेका सीडीओ चन्द्रबहादुर कार्कीले क्षतिको विवरण संकलन भइरहेको बताए। उनले पीडितलाई समस्या नपर्नेगरी प्रभावकारी राहत दिइने बताए। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्