भान्सामै दूषित परिकार, ११५ उद्योगका खाद्य सामग्री अयोग्य



काठमाडौं : खानपान स्वास्थ्यको महत्वपूर्ण हिस्सा हो । आमसर्वसाधारणले स्वास्थ्य स्थिति राम्रो होस् भनेर भान्सा कोठामा विशेष सरसफाइ गर्छन्, खाने परिकार स्वस्थ र स्वच्छ होस् भन्नेमा हरेक व्यक्ति सचेत हुन्छन् अनि सकेसम्म स्वस्थबर्द्धक परिकार बनाउँछन् । तर, हामीले भान्सामा प्रयोग गर्ने सामग्री नै दूषित छ भने घरभित्रको सरसफाइको कुनै अर्थ हुँदैन ।

तपाईंलाई आश्चर्य लाग्न सक्छ । हामीले दैनिक जीवनमा प्रयोग गर्ने खाद्य सामग्रीमध्ये ११५ उद्योगबाट उत्पादन हुने दैनिक उपभोग्य वस्तु खानै नमिल्ने खालका छन् । तीमध्ये कतिपय उपभोग्य वस्तु उपभोग गर्दा रोगको खतरासमेत हुन्छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने ११५ उद्योगका उत्पादन खान अयोग्य भएका जनाएको छ । विभागले हामीले दैनिक उपभोग गर्ने दाल, तेल, दूध, मसला, मिठाइ, पानी, चामलजस्ता उपभोग्य वस्तु अखाद्य भेटिएको जनाएको छ ।

विभागले साउनदेखि कात्तिक मसान्तसम्म गरेको अनुगमनका क्रममा तयार पारेको उपभोग्य वस्तुको सूचीमा अति दूषित पानीदेखि कानुनी प्रक्रिया मिचेर तयार पारिएका खाद्य सामग्री परेका छन् । विभिन्न जिल्लामा विभागले गरेको औद्योगिक क्षेत्रको अनुगमनपछि यस्तो नतिजा सार्वजनिक भएको हो ।

विभागले गरेको अनुगमनमा बारा जिल्लामा रहेका उद्योगबाट उत्पादन हुने दैनिक उपभोग्य वस्तु सबैभन्दा धेरै मापदण्डविपरीत रहेका भेटिएको छ । बारा जिल्लामा रहेको गणपति वनस्पति उद्योगबाट उत्पादन हुने सूर्यमुखी तेल तथा श्रीकृष्ण आयल एन्ड रिफाइनरीबाट उत्पादन हुने वनस्पति घिउ, सनफ्लावर तेल, सोयाबिन तेल, पामोलिन तेल, तोरी तेललगायतका अन्य उपभोग्य वस्तु गुणस्तरहीन भेटिएको छ ।

सोही जिल्लामा रहेको शिवशक्ति घिउ उद्योगले गुणस्तरहीन वनस्पति घिउ तथा पामोलिन तेल र एग्रो प्रोसेसिङ एन्ड लिपन मिलले गुणस्तरहीन तोरी तेल उत्पादन गर्दै आएको छ । नारायणी आयल रिफाइनरी उद्योगले उत्पादन गरेको सूर्यमुखी तेल पनि खान अयोग्य भएको विभागले जनाएको छ ।

यस्तै काठमाडौं, भक्तपुर, काभ्रे, पर्सालगायतका जिल्लामा उत्पादन हुने पानी, खाने तेल, मैदा, दूध, घिउलगायतका दैनिक उपभोग्य वस्तु मापदण्डविपरीत उत्पादन गरिएको भेटिएको छ । अनुगमनका क्रममा धेरैजसो खानेपानी, तेल, घिउ र मसला गुणस्तरहीन पाइएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए ।

‘हामीले गुणस्तरहीन वस्तु उत्पादन गर्ने उद्योगमाथि मुद्दा दायर गरेका छौं,’ वस्तीले भने, ‘गुणस्तरहीन उत्पादन गर्ने उद्योगलाई खाद्य ऐनबमोजिम कारबाही हुन्छ ।’ आजकाे राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्