रोनाल्डोले विश्राम लिने !



काठमाडौं: इटालियन क्लब युभेन्ट्सले स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई सिरी ए अन्तर्गत बुधबार हुने एटलान्टाविरुद्धको खेलमा विश्राम दिने भएको छ । युभेन्ट्सका प्रशिक्षक मासिमिलानो एलेग्रीले रोनाल्डोलाई एटलान्टाविरुद्ध पहिलो रोजाइमा नराखिने जनाएका हुन् ।  

 

रोनाल्डोले लिगका १७ खेलमा ११ गोल गरेका छन् । उनकै प्रदर्शनको आधारमा युभेन्ट्सले लिगको १७ खेलमा १६ जित र १ बराबरीसँगै अपराजित यात्रा कायम राखेको छ । ‘ रोनाल्डो आजको खेलका लागि बेन्चमा हुनेछन्,’ एलेग्रीले भने, ‘उनी खेलका लागि उपलब्ध छन् । बेन्चमा मसँगै बसेर खेल हेर्नेछन् ।

 

उनले जस्तो प्रदर्शन गरेका छन् हामी सबै खुसी छौं । अब उनलाई केहि विश्राम दिएर यसै लयलाई निरन्तरता दिने सोच छ ।’ रोनाल्डोले लिगमा १५ सय ३० मिनेटमध्ये १५ सय २० मिनेट समय मैदानमा बिताएका छन् ।

 

युभेन्ट्सले दोस्रो स्थानको नेपोलीसँग ८ अंकको फराकिलो अग्रता कायम गरेको छ । युभेले शनिबार साम्पडोरियासँग खेलेपछि इटालियन लिगमा तीन साता जाडो विश्राम हुनेछ । युभेन्ट्सले इटालियन सुपर कपको खेलमा मिलानको सामना गर्दै विश्रामपछि खेलमा फर्कनेछ ।

प्रतिक्रिया दिनुहोस्